सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहन्छः ईश्वर पोखरेल

डिसी नेपाल
२८ कार्तिक २०७७ १८:०२

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सँधै रहने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव रहनेमा जोड दिए ।

विश्वभरि फैलिएको कोरोना महामारीको बेला स्थानीय तहले गरेको कामको प्रशंसा गर्दै स्थानीय तहको सकारात्मक कामले सङ्घ र प्रदेशको पनि प्रतिनिधित्व गर्ने धारणा उनले राखे।

नेपाल सरकारका अन्य निकायलाई पनि यस्ता पुस्तक प्रकाशन गरी सबैलाई जानकारी दिन उनले सुझाव दिए ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता गोकर्ण विष्टले निर्वाचित भएपछिको अब बाँकी दुई वर्षका अवधिमा पनि जनताकै हितमा काम गर्न जनप्रतिनिधिलाई शुभकामना दिए ।

नेपाली कांगे्रसका नेता गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजीकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वका बारेमा थप प्रष्ट पारेको बताए ।

पुस्तकलाई पाँच विषयगत क्षेत्रमा विभाजन गरिएको छ । ‘संस्थागत सुद्दढीकरण सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ का विषय पुस्तकमा समेटिएको छ ।

मुलुकभरका ६६ जिल्लाका गाउाँलिकाका विवरण पुस्तकमा समेटिएका छन् । तीन वर्षका अवधिमा प्रदेश नं १ बाट ३८, प्रदेश नं २ बाट १९, वाग्मती प्रदेशबाट ६२, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३९, कर्णाली प्रदेशबाट २८ र सुदूरपश्चिम प्रदेशबाट २६ स्थानीय तहका अभ्यास यसमा समाविष्ट छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *