अमृत मनहरु र विष मनहरुको संसारमा : म
सुतेको मन जाग्दैन। मन जब जाग्छ या बिउँझन्छ त्यसबेला निद्रादेवीको काख प्यारो लाग्दैन। दर्शकदीर्घामा बसेको मन नाटक हेरिरहन्छ।
नाटकका दृष्यहरु छन्–मान्छे भोको भएर कराएको, नारी निर्वस्त्र भएर नाङ्गै पारिएको र हत्केलाले अनुहार छोपेको, लाठी बर्सेको, ठूला–ठूला महलमा सभ्रान्तहरुका पैसा जम्मा गर्ने विचार विमर्शहरु, सिंहासनमा बसेका शासकहरु, कसैको पीडामा अट्टाहास गरी हाँसेको, रोगले मरेको, फुटपाथमा मागिरहेको, अस्पतालमा पैसा नभएर पिडाले सडकमा छटपटाइ रहेको, कलियुग र अन्धोयुगलाई धर्मयुग भनेको, प्रेतलोकलाई स्वर्ग भनी भोटको विनिमय भएको।
मन यस्ता नाटक हेर्दा हेर्दै विचारोत्तेजक हुन्छ। प्रेम, ममत्व, स्नेह, सत्कर्मलाई हुलहरुले चितामा दाहसंस्कार गरेजस्तो लाग्छ मनलाई। मन जागृत छ, मन रुन्छ, मन हास्छ, मन कराउँछ, मन विद्रोह गर्छ, मनले मनलाई ऐना बनाएर नियाल्छ आफूलाई।
थुप्रै मनहरु भेट्छ मनले। फक्कड मन, लोभी मन, चोर मन, पापीमन, सत्ताको सुख भोगको मन, अन्याय गरिरहने मन, आफूलाई ठीक छु–अरु सबै गलत भन्ने मन, शोषण गर्ने मन, दलाली गर्ने मन, चाप्लुसी गर्ने मन, राजनीतिको षडयन्त्रकारी मन, किसानी मन, मजदुरी मन, विविधता संँस्कृति र आचार व्यवहार बोकेको छ मनले। मनले पहिचान खोज्छ, मनले धर्म खोज्छ, मन नास्तिक हुन्छ, मनले हतियार उठाउछ, मनले बुद्ध खोज्छ, मनले हिटलर र मुसोलिनी खोज्छ, मनले माक्र्स र गान्धी खोज्छ। एडमस्मिथ खोज्छ मनले, किन्स खोज्छ, लेनिन र माओ खोज्छ। मनै त हो जे पनि खोज्छ।
मन मिल्यो भन्छौ, त्यहाँ वर्गको जन्म हुन्छ। अमृत भरिएको मन पनि हुन्छ। विष भरिएको मन पनि हुन्छ। विष र अमृतको कक्टेल भएको मन पनि हुन्छ। सत्ताको छिनाझम्टी मारकाट, होहल्ला, मनहरुलाई पीडा दिने, सबै कृत्य पनि मनबाटै जन्मिएका हुन्।
मन मनहरुको शासक हुन खोज्छ। मन मनहरुलाई रैती र गुलाम बनाउन खोज्छ। कहिले एउटै मनले उही मनलाई सोध्छ म को हुँ? म किन हुँ? म किन बाँचेको? म किन सधैं चिरञ्जीवी नभएको। मन–जीवन दर्शन बन्छ। मन संगीत बन्छ, मन तानाशाह बन्छ। मन– कविता बन्छ। मनले उपन्यास लेख्छ कथा लेख्छ।
समग्र जीवन खोज्दै नदी किनारमा मौनरुपमा बस्छ। जुनेलीरात र औंसीको रातमा मन–त्यसैमा रुपान्तरण हुन खोज्छ। कवि देवकोटाको के नेपाल सानो छ र? निवन्ध उनको मन नै त हो। माक्र्सको कम्युनिष्ट घोषण पत्र तत्कालीन परिवेश र सुन्दर भविष्यको कल्पना गरी लेखिएको मन हो। बुद्धको निर्वाण मन हो।
गान्धीको रामराज्य पनि मन हो। यिनै मनहरुमा खेल्नेहरु, रमाउनेहरु थुप्रै मनहरु छन्। चरित्रको उडान चरीको मन हो। भोको सिंहका लागि मृगको हत्या पनि सिंहको मन हो। मृगको उछलकुदल पनि मृग मन हो। मनको श्रष्टा प्रकृति हो। प्रकृति एक किसिमको माया हो। त्यही मायामा विष्णु, व्रह्मा, शिव लटपटिएका छन्।
जिसस लटपटिएका थिए। बुद्ध लटपटिएका थिए। उनीहरुको जीवनचर्या, दर्शन, धारणा गरिएको धर्म सवै मन नै त हो। उदार प्रकृत्तिको, प्रेमले भरिएको, सुन्दर मनहरु र अराजक शोषकप्रवृत्ति, अन्यायी प्रवृत्ति पनि मनहरु नै हुन्। मनलाई पनि रोग लाग्छ। मन मर्यो भन्छौ नि वोलीचालीमा तित्तता पोख्दा मन पनि मर्छ।
शरीर र मन एक आपसमा जोडिएका छन्। आत्मा मर्दैन, आत्मा अजर अमर छ भन्ने हरु पनि त म कै अन्तरचक्षुबाट निस्केका मनका वाणीहरु हुन्। मनबाट गरिएको सकारात्मक प्रेम ममता, वात्सल्य, स्नेह मन, भय र वाधाहरुबाट मुक्त हुन्छ। अति तृष्णा, अति भोकको इच्छाको मनले मनलाई नै संकुचित बनाउँछ मनले। मैले फलानोलाई भोट दिए, म फलानोको फ्यान, सबै मन त हो।
सबै प्रकारका युद्धहरु, क्रान्तिहरु, आन्दोलनहरु सबै मन हो। मनले मनलाई कहिलेकाही वाध्य बनाउँछ, शासित बनाउँछ, उर्जाहिन बनाउछ। हतास मनस्थितिमा पीडाजन्य परिस्थितिमा आत्महत्या गराउने पनि मन। उर्जा भरेर जीवनलाई प्रेयशीको रुपमा मानवीय प्रेमको अन्नत सागरमा डुबुल्की लगाउने पनि मन।
लक्ष्मी, विष्णुलाई ऐरावत हात्ती, इन्द्रलाई अमृत देवतालाई लिने इच्छा पनि वर्णन जे गरे पनि मन नै हो। विष जति पिएर संसारलाई विषमुक्त बनाउने शिवको पनि मन नै हो। मनहरु वीच थुप्रै अन्तरविरोध छन्। मन प्रत्येक मान्छेको आ–आफ्नो हुन्छ।
मन मिल्यो भन्छौ, त्यहाँ वर्गको जन्म हुन्छ। अमृत भरिएको मन पनि हुन्छ। विष भरिएको मन पनि हुन्छ। विष र अमृतको कक्टेल भएको मन पनि हुन्छ। सत्ताको छिनाझम्टी मारकाट, होहल्ला, मनहरुलाई पीडा दिने, सबै कृत्य पनि मनबाटै जन्मिएका हुन्।
पीडा छ, दुःख छ, तर अर्थहीन, प्रयोजनहीन, मानवविरोधी, जनताविरोधी, गतिविधिहरुको, गठजोड पनि एक किसिमका मनहरुको मिलन विन्दु हो। उनीहरुको मन त्यसमा आनन्दित छ। अर्को मनले उनीहरुलाई सरापिरहेको छ।
मानवीय मूल्यको ह्रास भएको वर्तमानमा पनि मूल्यको पूर्नस्थापना पनि उज्वल, सफा, संवेदनाहरुले भरिएको मनहरुले मात्र गर्न सक्छन्। कुत्सित मनहरुले मनहरुलाई पीडामात्र दिन्छ। मनले शरीरलाई पनि पीडा र वेदना दिन्छ। त्यो मनले राष्ट्रलाई, प्रकृतिलाई, प्रकृति निर्मित सामाजिक प्राणालीलाई, जलचर, थलचर सबैलाई साँप मनले डस्न थाल्छ।
भारतका फक्कड जीवनयापन गर्ने सच्चिदानन्द, हिरानन्द वात्सयान अज्ञेयको कविताजस्तो ‘साँप, तुम सभ्य तो हुए नहीं, नगर में वसनाभी तुम्हे नहीं आया। एक वात पूछुं। (उत्तर दोगे ?) तव कैसा सीखा डंसना। विष कहाँ पायाँ?”
भन्ने उत्तर विष भरिएको मनले कहिल्यै दिँदैन। थुप्रै मनहरु वितृष्णाको सिकार भैरहेका छन्। गंगालालको जोधाहा मनले शासन हल्लायो। मनले दृढताले विष्णुमति गंगालालको रगतले रातो भयो। दुखी मनहरुका लागि विषालु मनहरुको विरुद्ध उनको मनले दृढ अठोट गर्यो र प्राकृतिक शरीर र मनलाई शाहदात बनाए।
जीवनमा दुःख सुख भैरहन्छ। कसैको कारणबाट मनले दुःखी हुन नपरोस भन्ने थुप्रै मनका दर्शनहरुले मनलाई बाटो देखाउने कोसिस पनि गरेका छन्।
जीवन दृष्टिको गहिराइलाई मनको मापनले, मनका भावहरु अज्ञेयले घर शीर्षकको कवितामा पोखे “घर मेरा कोई है नही। घर मुझे चाहिए। घरका भीतर प्रकाश हो। इस की भी मुझे चिन्ता नही है। प्रकाश के घरको भीतर मेरा घर हो। इसी की मुझे तलास है। ऐसा कोई घर आपने देखा है?”
मेरो मनले मनको प्रकाशभित्र सवल, सफल, प्रेममय स्वाधीन जीवन भएको मनको घरको खोजीमा छु। यो कुरा सर्प मनलाई नभनी दिनु होला। जीवनको सार्थक खोजीमा लागेकालाई यस्तो घर पाएमा ती मनहरुले खवर गरिदिए मन–मनै मुरी मुरी धन्यवाद र कृतज्ञता व्यक्त गर्ने थिए।
अस्तु ।
Facebook Comment