मुलुक जोगिन सक्छ ? (कथा)
न म पत्रकार थिएँ, न कुनै फोटोग्राफर, न म झोले थिएँ, न खोले खान नपाउनेको पक्षमा चाहेर पनि बोल्न सक्ने थिएँ। बस एउटा मूक दर्शक पर्वतजस्तो भएर हेर्न विवश थिएँ। मनमनै जप्तै थिएँ, ‘आत्मवत सर्वभूतेषु’ (अरुलाई पनि आफूजस्तै ठान) झट्ट आँखा पुगे।
स–सानो भीडले २ जना नवयुवकलाई लछार पछार पार्दै ठानामा पुर्यायो। दुईटी किशोरी पनि थपिए। भीड पनि थपियो। चोरी गरेको आरोपमा चारैजना पक्राउ परेका रहेछन्। धन्न मैले अनर्थ सोचिन मेरो मन अपवित्र हुन पाएन।
पुलिस ठानामा दबाब पर्यो कि! त्यो त थाहा भएन, तर मुद्दा गाउँको सिंहदरबारमा नगएर ‘आकस्मिक न्यायपीठ’मा पुग्यो। गुनेंः न्याय महँगो र कोल्टे देखिने गरेको बुझेर हो कि नत्र तत्क्षण बस बिसौनीको चौतारीमा आम नागरिकका तर्फबाट जूरीपीठ किन खडा हुन्थ्यो? खडा भो आकस्मिक न्यायपीठको भाव–मुद्राले अजस्वी देखिएर खडा भो। मैले शीतल अनुभव गरें।
अपराधीहरु आकस्मिक न्यायपीठ अर्थात् जनजूरीको डबलीमा उभ्याइए। चोरीको अपराधमा त्यहाँ पुर्याइएका चारैजना एकाघरका दाजुबहिनी रहेछन्। चोरी प्रमाणित भो, चोर्नेले अपराध स्वीकार गरे।
अब पुर्पक्ष थालियो। के चोर्यौ? भात। किन चोर्यौ? खान । आफ्नो घरमा खाने कि अर्काको चोरेर खाने? घरमा अन्न थिएन त्यसैले छिमेकीको घरमा पाकेको थियो। मौका छोपेर भाँडैसित ल्याएर खायाैं। मैले भात र तरकारी बोकें, भाइले दाल बोक्यो। तर हामीले चोरेका हैनौं। त्यहाँ खाने आँट भएन घरैमा लिएर आयाैं। जूरी पीठ बोलदै गयो—
मात्र बोलीले जनता अघाउँछन् भन्ने विश्वासले ती बाँचेका छन्। ज्यालादारी नपाए पनि कन्दमुल खोजेर पनि नागरिकको प्राणको रक्षा यत्न गर्दा हुन् तर न वन जंगल छ र कन्दमूल पाइन्छ, न महामहिमको ग्यास लाइन जनताको चुलोमा पुगेको छ । न अन्न न पाइप न मेलम्ची। कसरी बाँच्ने? के खाएर?
‘खै यसलाई चोरेको भन्ने कि नभन्ने?’ ‘मूल्यवान कुरा त चोरेको रहेनछ।’ नाथे भातै रहेछ।’ ‘हो भातका पछाडि यत्रो हंगामा छि।’ ‘यो त सरासर चोरी हो। चोरी मात्र होइन लूट हो, डकैती हो।’ ‘आँट हेर न आँट सरासर गएर अर्काका घरबाट पाकेको भातको भाँडै टिपेर हिड्ने?
यो त सोह्रैआना हेपेको हो। लाने त के तिनले त्यो घरमा पस्नै हुने थिएन। विधानले नै छुट्याएको छ नि ती चोरहरु हामीभन्दा फरक हुन्, फरक नभए किन किटान गर्थ्यो यी को हुन् भनेर!–दर्शक दीर्घामा मतमतान्तर चल्दै रह्यो।
‘हो तीनवटा मुद्दा त प्रष्टै देखियो–चोरीको, छोएको र हेपेको।’ धार्मिक सांस्कृतिक आस्थाप्रति प्रहार गरेको मुद्दा पनि लाग्न सक्छ। हेरौं सिंहदरबारले दिन नसकेको न्याय कस्तो दिन्छ जन–जूरीेले । छलफल रोचक होला जस्तो छ। ‘म आउँदै गएँ।’
दुई किशोरीमध्ये ठूलीले चोरी गर्नुको औचित्यबारे यति नै भनीः– आमा र बा कोरोना लागेर थलिनु भएको थियो। उपचार औषधि हुन सकेको छैन। दाजुहरुले काम भेट्नु भएन। हामी सबै दुई दिनदेखि भोकै थियौं। पल्लाघरकी वर्जु खाना पकाएर घर बाहिर गएको मौका पारेर हामीले ल्याएर खायौं। उहाँको आँखा छलेकोमात्र हो। अर्काको अन्न खानुहुने थिएन। त्यही गल्ती भो। चोरेको पनि होइन। चोर्दा त राम्रै कुरा चोरिन्थ्यो होला नि! भोका मान्छेलाई अन्नभन्दा मूल्यवान कुरा के हुन्थ्यो र। हाम्रो बुद्धि बिग्रेको हो भन्नुपर्ला। प्राण थाम्न खोजेको मात्र हो।
‘तिम्रो नाम के हो ?’ ‘अश्विनी ।’ ठूलीले भनी ।
अनि तिम्रो? धरणी। सानीले उत्तर गरी।
तिम्रो नाम केहो युवक? जी म बलभद्र।
अनि तिम्रो? हजुर म चाहिँ वीरभद्र।
‘चोर्ने कुराहरु धेरै गतिला र मूल्यवान अरु नै छन्। यो देशबाट पनि असल, उन्नत कुराको चोरी र तस्करी हुनेगर्छ। त्यसतर्फका चोर बडेबडे राजनीतिक व्यक्ति, व्यापारी र महामहिमहरु हुने गर्छन्। किन्तु भातचोरको तुलना तीसँग अहिले नगरौं। पछि गर्दै गरौंला। मौका आउला।’
‘यस मुद्दाका हकमा अभियुक्तले अपराध स्वीकार गरेका छन्। हाम्रो समाजको दुष्टिमा भात चोर्नु सामान्य चोरी मानिन्छ र यसलाई ठूलो बनाउँदा ठूलो हुन्छ, सामान्य ठानेर विर्सिन खोज्दा बिर्सन र क्षमा दिन पनि सकिन्छ।’
‘यद्यपि विशेष अर्थमा यो चोरी अत्यन्त मूल्यवान हो। अन्नको बराबरी कुनै धातु वा वस्तुसँग गर्न सकिन्न र खानेकुराभन्दा मूल्यवान कुरा अर्को हुनै सक्दैन, किनकि सुन वा रत्न खाएर बाँचिन्न, प्राणको रक्षा हुन सक्दैन।’
‘चोर्ने को हो? यी दुई नागरिक। नागरिक भएको प्रमाण छ कि छ्रैन्? यी बालिका नागरिक हैनन्। अहिले १२÷१४ वर्षका अनागरिक हुन्।
के चोरे? भात, अन्न, खानेकुरा। किन? बाँच्नका लागि। कसको घरमा चोरे? वाडको अध्यक्षको घरमा। अब यो लाजमर्दो कुरा भएन्?’
सबैले त्यहाँ उत्सुक्ताले हेरे।
‘यो चोरी गर्नेहरुलाई आज म धन्यवाद दिन्छु। जूरीलाई बोल्ने अवसर दिएकोमा कृतज्ञता ज्ञापन गर्दछु।’ जुरी पीठ बोल्यो। चोर्नेले आज दुनियाँमा सर्वश्रेष्ठ कुरा चोरेको हो। मानवको अस्तित्व रक्षा गर्ने वस्तु खानेकुराभन्दा ठूलो, महत्वपूर्ण वा मूल्यवान अर्को हुनै सक्दैन। यस्तो अमूल्य वस्तु चोर्ने मौका दिएर वडाध्यक्षज्यूले यिनको प्राण जोगाइदिनुभयो, उहाँप्रति पहिले जुरीको तर्फबाट आभार व्यक्त गर्छु।
समस्त राज्यशक्ति, राज्यशक्तिका संचालक, अपचालकहरु अन्नभन्दा अरुकुरालाई महत्व दिएर तिनको संचयन, संरक्षण र संवद्र्धनमा जुटेका छन्। शरीर र मनले त्यतै केन्द्रित छन्। मात्र वोलीले जनता अघाउँछन् भन्ने विश्वासले ती बाँचेका छन्।
ज्यालादारी नपाए पनि कन्दमुल खोजेर पनि नागरिकको प्राणको रक्षा यत्न गर्दा हुन् तर न वन जंगल छ र कन्दमूल पाइन्छ, न महामहिमको ग्यास लाइन जनताको चुलोमा पुगेको छ । न अन्न न पाइप न मेलम्ची। कसरी बाँच्ने? के खाएर?
त्यसैले आजको यो जुरी चोरीको अभियोगमा उभ्याइएका दुई नागरिक र दुई अनागरिक किशोरीहरुलाई यो दण्ड सुनाउँदै आदेश गर्छः ‘निज अभियुक्तहरुले वाडाध्यक्षको घरमा विहान बेलुका खाना र खाजा खाएर एक दिन निःशुल्क श्रम दिनेछन् या उहाँले भनेको ठाउँमा श्रम दिएर दण्ड चुक्ता गर्नेछन्।’
अनागरिक किशोरीहरुको घरमा वडाध्यक्षकी महीयासी अर्धाङ्गिनीले अश्विनी र धरणीलाई पुत्रीवत् स्नेह सम्मान दिएर एक एक दिन घरको काममा लगाएर दण्ड भुक्तान गराउने छन्।
स्मरणीय छः दुवै समूहले दण्ड भुक्तान दिएको जानकारी ठानाले जुरीका कुनै सदस्यलाई लिखत वा वेभमार्फत गराउने छ। श्रम भुक्तान लिने र दिने अवधि एक महिनाको हुनेछ र साथै खराब मौसम भएको दिनमा र सार्वजनिक विदा, पर्व उत्सव तथा शुक्र, शनि र आइतबारबाहेकका अन्य दिनमा आठ र सार्वजनिक विदा र तीनबारमा काम लगाए चार घण्टामा श्रमभूक्तान हुनेछ।
सामाजिक रुपान्तरणलाई मान्यता दिँदै मुसलमान, ओंकार परिवार र इशाईहरुको धार्मिक दिवसलाई महत्व साथ अग्रसर गरेर विधानको मर्मलाई पोषण गर्ने यत्न गरिएको छ। अन्यथा भए जूरीले बेहोर्ने छ।
निशुल्क, सरल, शीघ्र र व्यावहारिक ढंगको न्याय वितरण प्रणाली विकास भएको देखेर म बडो उत्साहित भएँ। अब उप्रान्त न्याय वितरण प्रणालीमा अझ परिस्कार आउँदै जाने विश्वास लिएर म आफ्नो गन्तव्यतर्फ लागेँ र टाढैबाट भेडेटार छेउको पाथीभरा माईलाई ढोगेर आशीर्वाद लिएँ।
माईले भनिन्, ‘काइँलो तँ लेख्तै जा, नाति लेख्तै जा। तर यो बोली मेरी सुब्बेनी आमा रणमोतीको हो भन्ने लाग्यो। म उनको प्यारो नाति थिएँ चकचके। हजुरबा खड्गसिंङ सिग्न्यामले यो दृश्य हेरेको हुनुपर्छ।
बुढाासुब्बातर्फ ओर्लदैँ गएँ। मनमा कुरा खेलेः जनताको विपक्षमा हिड्ने व्यवस्था कतिन्जेल चल्छ? जुन मुलुकले भोका, नाङ्गा, रोगी र असुरक्षित जनताको रक्षा गर्न सक्तैन त्यस मुलुकलाई जोगाउन जनताले काँध थाप्नु आवश्यक ठान्छ कि ठान्दैन! अहिले ज्वलन्त प्रश्न यो होइन कि ! उत्तर कोसँग माग्ने ? मुलुक जोगिन सक्छ?
Facebook Comment