प्रचण्डको प्रतिवेदन फिर्ता नभए बैठकमा उपस्थित नहुने ओलीको संकेत, दिनभर नेताहरुसँग छलफल

डिसी नेपाल
३० कार्तिक २०७७ २०:२०

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालयमा छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभए अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुन सक्ने बताएका छन्। शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीमाथि गम्भीर आरोप लगाइएको छ भने घुमाउरो भाषामा राजीनामा मागिएको छ।

सोही दिन आगामी मंसिर ३ गते सचिवलाय बैठक बस्ने तय भएको थियो। तीन गतेको बैठकमा आफू उपस्थित नहुने संकेत अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दिएका हुन्।

आइतबार बिहानैबाट नेताहरुसँगको छलफलमा व्यस्थ रहेका ओलीले प्रचण्डको प्रतिवेदन आफूमाथिको प्रहार भएको भन्दै सो प्रतिवेदन फिर्ता हुनुपर्ने बताएको जनाइएको छ। आइतबार ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग बालुवाटारमा छलफल गरेका छन्। दुबै नेताहरुसँगको छलफलमा ओलीले प्रतिवेदन फिर्ता हुनुपर्ने बताएको नेता नेपाल र गौतमले आफू निकटका नेताहरुलाई जनाएको स्रोतले बतायो।

नेता नेपाल निकट स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रतिवेदनमा आफूमाथि लगाइएका आरोप झुटा रहेको भन्दै झुटो आरोपको जवाफसमेत दिन आवश्यक नभएको बताएका थिए। तर, नेता नेपालले सबै कुरा बैठकमै छलफलबाट टुंग्याउनुपर्ने जवाफ दिएको जनाइएको छ। प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ताका लागि पहल गर्न भनेको तर नेता नेपालले कमिटी बैठकमै सबै कुरा टुंगिने बताएको नेता नेपाल निकट स्रोतले जनाएको छ।

उता उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री ओलीले विभिन्न अफर गरेको अपुष्ट खबरहरु आएका छन्। मन्त्रिमण्डलमा रोजेर भूमिका निर्वाह गर्न ओलीले गौतमलाई अफर गरेको भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *