गरियो म्हपूजा र गोबद्र्धन पूजा, नेपाल संवत् ११४१ मनाइँदै

डिसी नेपाल
३० कार्तिक २०७७ २१:२०

काठमाडौँ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर आजै पूजा गरियो । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

यस वर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्र्धन पूजा परेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले आजै गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

आज बिहान प्रतिपदा तिथि हुँदै गोवद्र्धन पूजा गर्न समितिले आह्वान गरेको थियो । त्यसपछि भाइटीकाको तयारी शुरु गरिएको छ । यस वर्ष कोरोना महामारी समेत फैलिएकाले स्वास्थ्य सुरक्षाको विधि अपनाएर भाइटीका लगाउन धर्मशास्त्रविद्ले आह्वान गरेका छन् ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेसंको शुरुआत गराएका थिए। नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।

साँझ शुक्ल प्रतिपदा परेका दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गर्ने परम्परा रहेको बगलामुखी पात्रोका पञ्चाङ्गकार शशिधर जोशीले जानकारी दिए । यस वर्ष आइतबार साँझमै शुक्ल प्रतिपदा परेकाले यसै दिन पूजा गर्नुपर्ने निर्णय गरिएको उनले सुनाए। साँझ कार्तिक शुक्ल प्रतिपदा परेका दिन आइतबार नै नेवार समुदायका मानिसले आफ्नो म्हःपूजा पर्व मनाएका छन् ।

यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन् । एकथरि नेवार समुदायले आइतबार म्हःपूजा गरेका छन् । अर्काथरिले भने आज सोमबार गर्दैछन् । सोमबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने जानकारी गराएका छन् । यस अवसरमा मङ्सिर २ गते मङ्गलबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा गौतमले राससलाई जानकारी दिए । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *