पर्यटकको पर्खाइमा श्रृङ्गेश्वर

डिसी नेपाल
३० कार्तिक २०७७ २२:५३

तम्घास । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल श्रृङ्गेश्वर मन्दिर क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । प्रचार प्रसारको अभावमा मन्दिर आझेलमा पर्न जाँदा उल्लेखनीय चहल–पहल नभएको जनाइएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ श्रृङ्गस्थित सो मन्दिर करिब पाँच सय बर्ष पहिले शृङ्ग्यऋषिले तपस्या गरेका बताइएको छ । गर्मीमा रेसुङ्गा र जाडोमा श्रृङ्गामा तपस्या गरेको हुनाले उक्त मन्दिरको नाम श्रृङ्गेश्वर रहन गएको भनाइ छ । यसले गर्दा रेसुङ्गा क्षेत्र, रिडीको ऋषिकेश धाम र श्रृङ्गेश्वर मन्दिरको सम्बन्ध छ । समग्र पर्यटकीय स्थलहरुको गुरुयोजनामा यी तीन क्षेत्रको सम्बन्ध स्थापित गरिएको छैन ।

रुरुक्षेत्र गाउँपालिका ४ का वडाध्यक्ष एवम् मन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्सुराम ज्ञवालीले सबै पर्यटकीय स्थलहरु समेटेर गुरुयोजना बनाउन नसकिएको बताए ।

आवश्यक बजेटको कमी तथा प्रचार–प्रसार नहुँदा पर्यटक नआएको उनको भनाई छ । “मन्दिरको इतिहास र धार्मिक महत्व नै बुझाउन सकिएको छैन ।” उनले भने, “बनाएका संरचनाले पनि पर्यटक पर्खिरहेका छन् ।”

श्रृङ्गेश्वर मन्दिरमा शिवालय, सिद्धेश्वरी, श्रृङ्गेश्वर धाम, होमखाडी, विष्णुगादी लगायका धार्मिक स्थल छन् ।

यसका साथै करिब तीन सय अटाउने हलजस्तै ठाउँ, विभिन्न बोटको फेदमा उद्यान, हिड्ने बाटो लगायतका अन्य भौतिक संरचना पनि तयार गरिएको छ । यहाँ साउने औँशी, कृष्णजन्माष्टमी, बालाचतुर्दर्शी, ठूलाएकादशी, जनैपूर्णिमा र शिवरात्रीका दिन विशेष मेला लाग्ने गर्दछ ।

साउनभर पनि विशेष मेला लाग्ने गर्दछ । स्थानीय भुवन भुसालले थुप्रै पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न सके आम्दानीको स्रोत जानकारी दिए ।

“अग्रजहरुले सक्नेजति गरे, अब काम गर्ने पालो हाम्रो हो ।” उनले भने, “श्रृङ्गेश्वरजस्था थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार गर्न सके रोजगारी समेत सिर्जना गर्न सकिन्थ्यो ।” सुबिधा सम्पन्न होटलहरु, अन्य भौतिक पूर्वाधारहरु, सडक, बिजुली लगायतका पक्षमा सरकारको ध्यान जानुपर्ने उनको सुझाव रहेको छ ।

छत्रकोट गाउँपालिकाको चोयघा मन्दिर पनि अहिले प्रचार–प्रसारको अभावमा ओझेलमा छ । मन्दिरमा दशैँको पूर्णिमाको दिन ठूलो सरायँ मेला लाग्ने गर्दछ । भाकल गरेको कुरा पुरा हुन्छ भन्ने पनि धार्मिक मान्यता रहीआएको छ ।

मन्दिर परिसरमा वनभोजस्थल पनि छ । विभिन्न समयमा विभिन्न क्लव, संघ संस्था विद्यालयबाट पिकनिक समेत जाने गर्दछन् । मन्दिर वरपर खेल खेल्ने ठाउँ पनि बनाइएको छ भने मन्दिरमा एकजना पूजारीले सधैजसो पुजा गर्ने गर्दछन् ।

छत्रकोट गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारीले गाउँपालिकाभरीका पर्यटकीय स्थलको गुरुयोजना बनाइ संरक्षण तथा प्रवद्र्धन काम गर्ने जानकारी दिए ।

उनले चोयघाजस्तै अन्य ठाउँका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आवश्यक भौतिक संरचना निर्माण, प्रचार सामग्री निर्माण लगायतका काम गर्ने योजना रहेको बताए ।

कृषि र पर्यटनबाट नै गाउँपालिकाले समृद्धि खोजिरहेको जनाउँदै उहाँले यस कार्यमा जुट्न सबैसँग आग्रह गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *