पर्यटकीयस्थल खोपारा–खयर जोड्ने पदमार्ग निर्माण

डिसी नेपाल
३० कार्तिक २०७७ २२:५९

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा र खयर भारानी ताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजन गरेको रु १० लाख बजेटबाट पाउद्वारदेखि खोपारा हुँदै खयर जाने बाटामा अप्ठ्यारो ठाउँ पहिचान गरी पदमार्ग निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाले लरेनीमा १५०, डेरीबासमा १००, दोबाटोमा १५०, खोपारामा २० र चिन्नेखर्कमा ४०० मिटर गरी कुल ८२० मिटर पदमार्गका साथै खोपारामा भल व्यवस्थापनका लागि नाली र तीन ग्याबियन पर्खाल निर्माण गरिएकोे बताए ।

“गाउँका बेरोजगार युवालाई परिचालन गरेर पदमार्ग बनाएका हौँ”, उनले भने, “बस्तीदेखि टाढा पदमार्ग निर्माण गर्नका लागि डेढ महिना कार्यक्षेत्रमै क्याम्प बनाएर बस्यौँ ।”

दैनिक २० देखि २५ युवालाई प्रतिव्यक्ति रु एक हजार ज्याला दिएर पदमार्ग निर्माणमा परिचालन गरिएको थियो । समूहसमूह बनाएर युवालाई काममा लगाइएकाले विकाससँगै रोजगारी र आयआर्जनको अवसर पाएको उपभोक्ता समितिका सचिव सविता तिलिजाले बताइन् ।

समुद्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोपारा लेक हिमाल, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहन दृष्य अवलोकनका साथै प्राकृतिक र जैविक विविधताका हिसाबले महत्वपूर्ण छ ।

खोपारादेखि एक दिनको पैदलयात्रापछि बराह शिखर हिमालको फेदीमा रहेको खयरभारानी तालको दर्शन र पूजाआजा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास भएकाले धार्मिक पर्यटनको सम्भावना छ ।

पाउद्वार गाउँका बासिन्दाले आफन्तका नाममा खोपारा र खयरभारानी जाने बाटामा पदमार्ग, चौतारी, धर्मशाला बनाउँदै आएकामा यस वर्ष गाउँपालिकाले पहिलो पटक बजेट विनियोजन गरेको कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने शिखको बयली, ढाडखर्क हुँदै खोपरा जोड्ने अर्को पदमार्ग निर्माणका लागि समेत गाउँपालिकाले यसै वर्ष रु १० लाख बजेट विनियोजन गरेको छ ।

भिरालो र साँघुरो बाटामा आवतजावतमा असहज हुनाका साथै चिप्लिएर लड्ने तथा बाटो बिराएर दुःख पाउने समस्या थियो ।

खोपारा र खयरभारानी क्षेत्रको पर्यटन विकासमा समुदाय र गाउँपालिकाले पूर्वाधार निर्माण तथा प्रबद्र्धनलाई निरन्तरता दिने वडा सदस्य धनबहादुर पाइजाले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *