कोरोनाको सफल भ्याक्सिन बनाउने वैज्ञानिकले भने ‘अर्को जाडोसम्म जीवन सामान्य हुन्छ’

डिसी नेपाल
१ मंसिर २०७७ १४:०३

काठमाडौं। जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलमा ९० प्रतिशत सफल भएको देखिएसँगै अब भाइरसको नियन्त्रण सम्भव हुने आशा गरिएको छ । यो भ्याक्सिनको विकास गरेका वैज्ञानिक उगुर साहिनले अर्को वर्षको जाडोसम्म जीवन सामान्य हुने विश्वास व्यक्त गरेका छन् ।

भ्याक्सिन विकासकर्ता कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी प्रोफेसर उगुर साहिनले बीबीसी वनको एन्ड्रयु मर शोमा कुरा गर्दै आउँदो गर्मी याममा भ्याक्सिनको असर देखिन सुरु हुने र जाडो महिनासम्म जीवन सामान्य अवस्थामा फर्किने बताएका हुन् । गर्मी यामसम्म दिइने भ्याक्सिनले भाइरसको प्रसार आधा कम गर्ने र नयाँ संक्रमणका केसमा नाटकीय गिरावट आउने समेत विश्वास व्यक्त गरे । उगुरले अबका केही महिना भने निकै कठिन हुने बताएका छन् ।

उनले भने ‘क्लिनिकल ट्रायलमा भ्याक्स्नि ९० प्रतिशत सफल भएको पाइएको छ । तर, यसको असर कोरोनाको अहिलेको लहरमा देख्न पाइने छैन ।’ गत हप्ता फाइजर कम्पनीले भ्याक्सिनको सफलताको घोषणा गरेको थियो तर ट्रायलसँग सम्बन्धित अन्य डाटा जुटाउने काम अझै जारी छ जसबाट भ्याक्सिन सुरक्षित भएको पुष्टि गरिनेछ ।

प्रोफेसर उगुरले यदि सबै कुरा सही रहेमा यही वर्षको अन्त्यबाट भ्याक्सिनको डेलिभरी सुरु गरिने बताए । कम्पनीको लक्ष्य अर्को वर्षको अप्रिलसम्म ३० करोड डोज डेलिभरी गर्ने रहेको बताउँदै उनले यो भ्याक्सिनको साइड इफेक्टको रुपमा हल्कादेखि मध्यम रुपमा इन्जेक्सन लगाएको ठाउँमा दुख्ने पाइएको बताए । यो दुखाइ केही दिनमा हराएर जाने पाइएको र केही व्यक्तिहरुमा हल्कादेखि मध्यम ज्वरोको साइड इफेक्ट देखिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *