कहिले आउँछ भ्याक्सिन ? फाइजरको फेज–३ ट्रायलमा सफल भ्याक्सिनबारे सबै कुरा जान्नुहोस्

डिसी नेपाल
१ मंसिर २०७७ १४:५८

काठमाडौं। कोरोनाभाइरस नियन्त्रण गर्न भइरहेको विश्वव्यापी प्रयासका बीच अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेको भ्याक्सिनले फेज–३ ह्युमन ट्रायलको सुरुवाती नतिजामा सकारात्मक नतिजा दिएको घोषणा गरिएको छ । यो भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी रहेको पाइएको छ ।

यो एक महत्वपूर्ण खबर हो किनकि यतिबेला विश्वभरीमा १ भ्याक्सिन फेज ३ ट्रायलको चरणमा छ । फाइजर फेज ३ ट्रायलको सुरुवाती नतिजा घोषणा गर्ने पहिलो ठूलो कम्पनी बनेको छ । यी नतिजा सुरुवाती हुन् । अहिलेसम्म पनि यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी भएको ग्यारेन्टी भइसकेको छैन र यो भ्याक्सिन अझै केही महिना आम सर्वसाधारणसम्म पुग्ने छैन ।

वैज्ञानिकले अहिलेसम्म पत्ता लगाएका कुरा

फाइजर र बायोएनटेकले जुलाइमा लेट स्टेज क्लिनिकल ट्रायल सुरु गरेका थिए । यसमा ४४ हजार स्वयंसेवकलाई सहभागी गराइएको थियो । आधा स्वयंसेवकलाई भ्याक्सिन दिइएको थियो र आधालाई नुनिलो पानीको प्लेसेबो दिइएको थियो । त्यसपछि वैज्ञानिकहरुले यो भ्याक्सिनले भाइरसबाट बचाउँछ कि बचाउँदैन भन्ने प्रतिक्षा गरे । अहिलेसम्म ४४ हजार स्वयंसेवकमध्ये ४४ जना मात्र कोभिड–१९ पोजेटिभ पाइएका छन् । ४४ हजार स्वयंसेवकमध्ये कसलाई भ्याक्सिन दिइएको थियो र कसलाई प्लेसेबो दिइएको थियो भन्ने अहिलेसम्म स्वतन्त्र बोर्डलाई मात्र थाहा छ ।

सुरुवाती आँकलनले यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको देखाएको छ । क्लिनिकल ट्रायलको मापदण्ड अनुसार डाटा ‘ब्लाइण्ड’ रह्यो । यसको अर्थ हो स्वतन्त्र बोर्डबाहेक कसैलाई थाहा छैन कि संक्रमित भएका ९४ जनामध्ये पनि कसलाई भ्याक्सिन दिइएको थियो र कसलाई प्लेसेबो । अहिलेसम्मको डाटाको विश्लेषण गर्दा यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी देखिएको भन्नुको अर्थ संक्रमित भएका ९४ जनामध्ये धेरैजसोलाई प्लेसेबो दिइएको थियो र भ्याक्सिन दिइएका निकै कम मात्रै संक्रमित भएका छन् ।

के यी सुरुवाती नतिजालाई राम्रो मान्न सकिन्छ ?

निसन्देह । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले यदि आकस्मिक स्वकिृति चाहिए कुनै पनि भ्याक्सिनले कम्तीमा ५० प्रतिशत प्रभावकारिता देखाउनुपर्ने बताएको छ । यदि फाइजर र बायोएनटेकको सुरुवाती नतिजा अन्तिमसम्म कायम रहेमा यो एफडिएले तोकेको न्यूनतम मापदण्डभन्दा कैयौं बढी हुनेछ । यो नतिजा कति राम्रो हो भन्ने बुझ्न अरु भ्याक्सिनको प्रभावकारिता हेर्नुपर्ने हुन्छ । आम इन्फ्लुएन्जा भ्याक्सिनको प्रभावकारिता ४० देखि ५० प्रतिशत मात्रै हुन्छ किनकि हरेक वर्ष यन्फ्लुएन्जा भाइरस नयाँ रुपमा आउँछ । दादुराको दुई भ्याक्सिनको प्रभावकारिता ९७ प्रतिशत छ । क्षयरोगविरुद्धको बीसीजी भ्याक्सिन ८० देखि ९० प्रतिशत छ ।

के यो भ्याक्सिन सुरक्षित छ ?

फाइजर र बायोएनटेकले अहिलेसम्म आफ्नो भ्याक्सिनको सुरक्षाका विषयमा कुनै चिन्ता जनाएका छैनन् । ठूलो परिमाणको ट्रायलअघि यी कम्पनीले मे महिनामा सानो स्तरमा क्लिनिकल ट्रायल गरेका थिए । यसमा भ्याक्सिनको ४ संस्करणको परीक्षण गरियो र जुन संस्करणमा ज्वरो वा थकानजस्ता साइड इफेक्ट सबैभन्दा कम वा मध्यम स्तरका थिए त्यो संस्करण रोजियो । यदि यो भ्याक्सिनलाई एफडिएले आकस्मिक प्रयोगको लागि स्वीकृति दिएमा लाखौंलाई यो भ्याक्सिन दिइनेछ र उनीहरुको अगाडिको निगरानी सीडीसी र एफडिएले मिलेर गर्नेछन् । ट्रायलमा सहभागी स्वयंसेवकको २ वर्षसम्म निगरानी हुनेछ ।

यो भ्याक्सिन बजारमा कहिलेसम्म आउनेछ ?

फाइजरले नोभेम्बर महिनाको तेस्रो हप्ता यो भ्याक्सिनको आकस्मिक स्वीकृतिको लागि एफडिएमा पेश गरिने बताएको छ । त्यतिबेलासम्म कम्पनीसँग २ महिनाको ‘सेफ्टी डाटा’ उपलब्ध हुनेछ । त्यसपछि एफडिएले विशेषज्ञहरुको बाह्य सल्लाहकार समितिसँग परामर्श लिनेछ । भ्याक्सिनको सुरक्षा, प्रभावकारिताको विस्तृत डाटाको अध्ययनमा केही हप्ता पनि लाग्न सक्छ ।

कम्पनीले सुरक्षित तरिकाले लाखौं डोज बनाउन सक्छन् कि सक्दैनन् भन्ने पनि जाँच गरिनेछ । यो भ्याक्सिनलाई उच्च जोखिममा रहेका क्षेत्रमा आकस्मिक प्रयोगको लागि यो वर्षको अन्त्यसम्म स्वीकृति दिन सकिनेछ । यो त्यतिबेला मात्र हुनेछ जब सबै कुरा योजनाको हिसाबले चल्नेछन् र कुनै अनपेक्षित घटना घट्ने छैन । फाइजर र बायोएनटेकले एक वर्षमा १ अर्ब ३० करोड डोज बनाउन सक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *