‘बियर र ब्युटी’को लागि प्रसिद्ध ठाउँले अब सारा संसारका मानिसहरुको रक्षा गर्नेछ
काठमाडौं। बेल्जियममा एउटा सहर छ जो आफ्ना सुन्दरीहरु र बियरको लागि प्रसिद्ध छ । तर, अहिले भने पूरै विश्वले यो सहरतिर आशाको नजरले हेरिरहेको छ । विश्वले यो सहरसँग आशा गर्नुको कारण न ब्युटी क्विन हुन् न बियर हो । यो शहरले त अब पूरै विश्वका मानिसहरुको रक्षा गर्नेवाला छ । अन्तर्राष्ट्रिय स्तरको बियर बनाउने र अन्तर्राष्ट्रिय स्तरका सुन्दरीहरुको लागि प्रसिद्ध यो सहरमा अहिले विश्वलाई नै आक्रान्त पारिरहेको कोरोनाभाइरस नियन्त्रण गर्ने भ्याक्सिन बनिरहेको छ ।
बेल्जियमको पुर्स नामको यो शहर राजधानी ब्रसेल्स र आन्टवर्प शहरको बीचमा छ । अघिल्लो हप्तासम्म यो ठाउँ मिस बेल्जियम रहिसकेकी सुन्दरी टेलिभिजन व्यक्तित्व डिना टेरसागोको गृहनगरको रुपमा चिनिन्थ्यो । अर्को यो शहर यहाँको प्रसिद्ध बियरको लागि चिनिन्थ्यो । अन्तर्राष्ट्रिय स्तरको यो बियर कुरिलोबाट बनाइन्छ र अहिले यहाँ कुरिलोको उत्पादन लिने बेला भएको छ । तर, अब भने यो शहर विश्वलाई कोरोनाभाइरस महामारीबाट बचाउने भ्याक्सिन उत्पादन हुने क्षेत्रको रुपमा पनि परिचित हुँदैछ ।
गएको सोमबार जर्मन भ्याक्सिन विकासकर्ता कम्पनी बायोएनटेक र अमेरिकी भ्याक्सिन उत्पादक कम्पनी फाइजरले आफूहरुले संयुक्त रुपमा विकास गरेको भ्याक्सिनको फेज ३ ट्रायलमा भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको घोषणा गरेका थिए । यही भ्याक्सिन उत्पादन गर्ने कम्पनी फाइजरको भ्याक्सिन उत्पादन कारखाना पुर्स शहरमा छ । डेलीमेलको रिपोर्टअनुसार फाइजरको यहाँ रहेको उत्पादन युनिटमा भ्याक्सिनको उत्पादन सुरु भइसकेको छ ।
यो शहरका मेयर कोएन वान डेन ह्वुवेलले मजाक गर्दै डेलीमेलसँग भने ‘हाम्रो नगरबासीले सबैभन्दा पहिले कोभिड १९ भ्याक्सिनको डोज पाउनेछन् ।’ यद्यपि मेयर र यहाँका नगरवासीलाई थाहा छ फाइजर कम्पनीका कैयौं सम्झौता छन् । यिनै सम्झौताअनुसार कम्पनीले विश्वभर भ्याक्सिन बाँड्नेछ । यो सानो सहर दुई सडकले विभाजित छ । यहाँ एउटा चर्च, स्कुल, औषधि पसल, केही रेष्टुरेण्ट र कुरिलोका खेत छन् । यो सहरलाई दशकौंदेखि यहाँ रहेको मुर्टगाट ब्रुअरी कम्पनीले उत्पादन गर्ने दुवेल बियरको लागि चिनिँदै आएको छ ।
१९६० को दशकमा यहाँ फाइजरको पूर्ववर्ती कम्पनी अपजोनले कारखाना स्थापना गर्यो । यहाँका ३ हजार जनतालाई रोजगारी दियो । यही अपजोन कम्पनी पछि फाइजरमा परिणत भएको हो । यहाँ कारखाना स्थापना भएपछि यो ठाउँको भाग्य बदलियो । अहिले फाइजर र बायोएनटेक दुवै कम्पनीले एकसाथ उनीहरुको भ्याक्सिन कोभिड–१९ विरुद्ध ९० प्रतिशत प्रभावकारी भएको बताएका छन् । त्यसैले अहिले विश्वले पुर्सलाई आशाको नजरले हेरिरहेको छ किनकि यहीँ भ्याक्सिन सबैभन्दा धेरै उत्पादन भइरहेको छ ।
हालै फाइजरले यहाँ स्थानीय स्तरमा एउटा विज्ञापन निकालेको थियो । यसमा कम्पनीले भ्याक्सिन निर्माणका लागि कामदार मागेको थियो किनकि कम्पनीले अर्को वर्षको अनत्यसम्म एक अर्बभन्दा धेरै डोज भ्याक्सिन उत्पादन गर्नु छ । यो रोग यति छिटो समाप्त हुनेवाला छैन र ठूलो परिमाणमा भ्याक्सिनको आवश्यकता छ ।
स्थानीय केमिस्ट जो वर्स्टुफिटले भने ‘हामीलाई खुसी छ कि विश्वले हाम्रो ठाउँमा बनेको भ्याक्सिन पाउनेछ । तर, यो भ्याक्सिन यो समस्याको एक्लो समाधान नहुन सक्छ किनकि भाइरस म्युटेट हुन सक्छ । त्यसैले हुन सक्छ यो भ्याक्सिनले मानिसहरुलाई केही महिना मात्र बचाउन सकोस् ।’
Facebook Comment