मड्रेनाले विकास गरेको कोरोनाविरुद्धको खोप ९५ प्रतिशत सुरक्षित

डिसी नेपाल
१ मंसिर २०७७ १८:२७

वाशिङ्टन (एजेन्सी)। अमेरिकी कम्पनी मड्रेनाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ९५ प्रतिशत सुरक्षित रहेको कम्पनीले जनाएको छ। सोमबार प्रकाशित तथ्यांकले यो खोप ९५ प्रतिशत सुरक्षित देखिएको मड्रेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

समाचारअनुसार यो खोपको परीक्षणमा ३० हजार मानिसहरु सहभागी भएका थिए। सहभागीहरु सबै अमेरिकी नागरिक रहेको जनाइएको छ। मड्रेनाले यो दिनलाई विशेष दिन भनेको छ। साथै यो कोरोना भाइरस महामारीमाथि मानिसले विजयी पाउने विश्वाससमेत व्यक्त गरेको छ।

तर, पनि यो खोप परीक्षणको अझै शुरुकै चरणमा रहेको बीबीसीले उल्लेख गरेको छ। केही दिनअघि अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकसित गरेको खोप ९० प्रतिशत सुरक्षित रहेको भन्दै त्यसको तथ्यांक सार्वजनिक भएको दिनलाई महान दिन भनेको थियो।

विशेषज्ञहरुले कुनै पनि खोप शतप्रतिशत सुरक्षित नहुने भन्दै फाइजर र मड्रेनाले विकास गरेका खोपले कोरोनामाथि विजयी पाउन सकिने विश्वास व्यक्त गरेका छन्। मड्रेनाको खोपमाथि भइरहेको परीक्षणमा कुनै पनि सुरक्षा चुनौति नदेखिएको जनाइएको छ।

गत वर्ष जनवरीमा चीनको वुहानमा पहिलो पटक देखिएको यो भाइसले हालद विश्वलाई नै आफ्नो कब्जामा लिएको छ। दैनिक हजारौं मानिसहरु मरिरहेका छन् भने संक्रमितको संख्या ५ करोड ४९ लाख पुगिसकेको छ भने मृत्यु हुनेको संख्या १३ लाख २६ हजार पुगेको छ।

नेपालमा हालसम्म कोरोनाबाट २ लाख १० हजार ९८३ जना संक्रमित भएका छन् भने १ हजार २३० जनाको मृत्यु भइसकेको छ।

हाल परीक्षणमा रहेका खोपहरु सफल भएर आम मानिसको पहुँचसम्म पुग्न अझै निकै समय लाग्ने बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *