तनहुँको भानुमा औद्योगिक ग्राम स्थापना हुने
दमौली । तनहुँको भानु नगरपालिका–३ खहरेमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । सत्चालीस रोपनी क्षेत्रफलमा नगरस्तरीय औद्योगिक ग्राम बनाउनका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ ।
नगरपालिकामा बसोबास गर्ने कृषकले उत्पादन गर्ने स्थानीय उत्पादन धान, मकै, कुखुरा बाख्रालगायत उत्पादनसँग जोडिएका वस्तुको बजारीकरणका लागि ग्राम स्थापना गर्न लागिएको हो । कृषक र उपभोक्ताबीच उत्पादन वस्तु खरीदबिक्रीका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
आर्थिक वर्ष ०७७/७८ को बजेटबाट खर्च हुने गरी हालका लागि रु एक करोड बजेट विनियोजन गरिएको र आवश्यकतानुसार बजेट थप निकासा हुने सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिए। कृषकद्वारा उत्पादित वस्तुको बिक्रीका लागि सहज वातावरण बनाउने र खरीद गर्ने उपभोक्ताले एकै ठाउँबाट सामान खरीद गर्ने भएमा कृषकलाई बजारीकरणका लागि समस्या नहुने सासंद श्रेष्ठले जानकारी दिए ।
यसअघि तनहुँका बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा पनि पालिकास्तरीय औद्योगिक ग्राम निर्माणको प्रक्रिया शुरु भएको छ । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाका माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम ल्याएको थियो ।
औद्योगिक ग्राम घोषणा भइसकेपछि सो क्षेत्रमा गर्नुपर्ने योजना, पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा सहयोग र सहकार्य गर्न आवश्यक देखिएमा विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वय र सहमतिमा कार्यक्रम सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ । रासस
Facebook Comment