पूर्व निर्वाचन आयुक्त ईला शर्माको बिरालो हरायो, भेट्टाउनेलाई साढे १७ हजार पुरस्कार

डिसी नेपाल
२ मंसिर २०७७ १३:१५

काठमाडौं। निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको बिरालो हराएको छ । आयुक्त शर्मा गएको बुधबार नेपालबाट दिल्ली जाने क्रममा उनको बिरालो गोरखपुर रेलवे स्टेशनमा हराएको हो । पूर्व आयुक्त शर्माले दिल्ली जाने क्रममा बिरालो साथमा लिएर गएकी थिइन् । बिरालो हराएपछि गोरखपुर रेलवे प्रशासनले बिरालाको खोजीको धेरै प्रयास गरेको तर बिरालो नभेटिएको भारतीय दैनिक अखबार हिन्दूस्तानले जनाएको छ । रेलवे पुलिसका इन्स्पेक्टरले हिन्दूस्तान दैनिकसँग कुरा गर्दै बिरालोको खोजी भइरहेको बताएका छन् ।

२०६९ सालदेखि २०७५ सम्म ६ वर्ष नेपालकी निर्वाचन आयुक्त रहेकी ईला शर्माको भारतीय नागरिकसँग विवाह भएको हो । उनका श्रीमान एसवाइ कुरैशी पनि भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् । ईला शर्मा बुधबार नेपालबाट गोरखपुर पुगेकी थिइन् । यहाँबाट उनी रेलमा दिल्ली जानुपर्ने थियो तर जंक्सनको प्लेटफर्म नम्बर ६ बाट उनको बिरालो हरायो । बिरालोको नाम हिवर रहेको बताइएको छ ।

बिरालो हराएपछि निकै भावुक भएकी पूर्व आयुक्त शर्माले तत्कालै बिरालोको फोटोसहितको पोस्टर बनाएर गोरखपुर रेलवे स्टेशनका विभिन्न ठाउँमा टाँसिन् । पोस्टरमा मोवाइल नम्बरका साथै बिरालो भेट्टाउनेलाई ११ हजार भारु पुरस्कारको घोषणा गरिएको छ । पूर्व आयुक्त शर्माको बिरालो खोज्नको लागि जीआरपी र आरपीएफका जवानहरुले रातभरी प्रयास गरेका थिए । आरपीएफ इन्स्पेक्टर राजेश सिन्हाले बिरालोको खोजी भइरहेको बताएका छन् ।

पूर्व आयुक्त शर्मा र उनका छोराछोरी बिरालो हराएपछि निकै चिन्तित छन् । शर्माले बिरालो हराएको उजुरी पुलिसमा दर्ता गराएकी छिन् । शर्माका अनुसार उनको पूरै परिवारले हिवर नामको बिरालोलाई निकै प्रेम गर्छन् । यो बिरालो वन विभागबाट प्रतिबन्धित नभएको बताउँदै शर्माले आफूले राखेको ११ हजार रुपैयाँको पुरस्कार निकै कम भएको र यसको लागि अझै ठूलो पुरस्कारको घोषणा गर्न सक्ने बताएकी छिन् । बिरालो भेटिएको वा नभेटिएको बारे थप जानकारी प्राप्त भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *