नेकपाको विवाद समाधान उन्मुख भएको हो ?

डिसी नेपाल
३ मंसिर २०७७ १६:४८

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला अन्यौलमा परेको बुधबारको सचिवालय बैठक अन्ततः बस्यो र अर्को मिति तोक्दै सकियो।

बुधबारको बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको शुक्रबार बसेको बैठकमा पेश गरेको एकल राजनीतिक प्रस्तावमाथि छलफल नगराउन प्रचण्ड पक्ष तयार भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठकका लागि तयार भए।

दुबै पक्ष एक स्टेप ब्याक भएपछि सम्भव भएको बुधबारको बैठकले नेकपा कार्यकर्ताहरुमा राहतको सञ्चार गराएको छ। कतिपयले बुधबार नै कुनै अप्रिय घटना हुन सक्ने अनुमान गरेका थिए।

प्रधानमन्त्री ओलीले मंगलबारसम्म बुधबारको बैठकमा अनुपस्थित हुने अडान लिनु र बुधबार बिहानै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनेले यस्तो अनुमानलाई बल मिलेको थियो। तर, बुधबार बिहान राष्ट्रपति निवास पुगेर प्रधानमन्त्री ओली फर्किएपछि उनी बुधबारको बैठकमा सहभागी हुन राजी भए भने प्रचण्डको प्रस्तावमाथिको छलफल बुधबार नगराउन प्रचण्ड राजी भए। यसरी दुबै पक्ष विन विनको अवस्थामा पुगेपछि बुधबार भएको बैठकले आगामी १३ गतेलाई अर्को बैठकको मिति तोकेको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डको राजनीतिक प्रस्तावको जवाफमा आफूले पनि प्रस्ताव ल्याउने र त्यसका लागि १० दिन समय आवश्यक भएको भन्दै समय मागेपछि १३ गतेलाई अर्को बैठक बोलाइएको जानकारी दिए।

बुधबारको बैठकमा महासचिब विष्णु पौडेलले सचिवालयका सबै ९ जनाले राजीनामा दिनुपर्ने प्रस्ताव गरेको बताइएको छ। उनले सबै नेताहरुले राजीनामा दिएर नयाँ शिराबाट नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेको एक सचिवालय सदस्यले जानकारी दिए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले भने सरकारको निकै आलोचना गरेका थिए। उनले संघीय सरकारमात्र नभएर तीनै तहका सरकारको आलोचना गरेको एक सचिवालय सदस्यले बताए।

बुधबारको बैठकपछि नेकपा कार्यकर्ताहरुले राहतको स्वास लिए पनि नेताहरु भने विवाद समाधान उन्मुख भएको मान्न तयार छैनन्। नेकपा स्थायी कमिटी सदस्य गणेश शाहले अहिले नै विवाद समाधान उन्मुख भएको भन्न नमिल्ने बताए। तर, बुधबारको बैठकले सकरात्मक सन्देश भने दिएको उनको बुझाई छ। भित्र जस्तो झगडा भए पनि नेताहरुले बाहिर भने सकरात्मक सन्देश दिएको उनको बुझाई छ। उनले अब अर्को सचिवालय बैठकसम्म विकसित हुने घटनाक्रमले नेकपाको विवादबारे केही निक्र्यौल गर्न सकिने उनले बताए।

बुधबारको बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटले नयाँ परिस्थितिको सिर्जना गरेको कतिपय नेकपा नेताहरुको भनाई छ। मंगलबार साँझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष प्रचण्डसँग पनि भेट गरेकी थिइन्। शीतल निवासमा मंगलबार साँझ भएको सो भेटले पनि केही भूमिका खेलेको अनुमान गरिएको छ।

त्यस्तै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले मंगलबार राति प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। सो भेटले पनि केही भूमिका खेलेको बताइन्छ। नेकपामा विवाद चर्किँदा चिनियाँ राजदूतको सक्रियता हुने गरेको छ। यसअघि दुई पटक नेकपामा विवाद चर्किँदा पनि चिनियाँ राजदूतले सक्रियता देखाएकी थिइन्। उनको सक्रियताप्रति भने विरोध भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *