नेकपा विवादमा भारतीय मिडिया मौन

डिसी नेपाल
३ मंसिर २०७७ १९:५३

काठमाडौं। गएको वैशाखमा र असारमा नेपालमा सत्तारुढ दल नेकपामा विवाद चर्किँदा भारतीय सञ्चार माध्यमहरु नेपालका समाचारले रंगिएका थिए। विभिन्न प्रसंग जोडेर नेपाल र नेपाल कम्युनिष्ट पार्टीबारे अतिरञ्जित समाचार प्रशारण गरिरहेका थिए।

तर, त्यतिबेला भन्दा नेकपाको विवाद हाल झन कठिन मोडमा पुग्दा भारतीय सञ्चार माध्यमहरु भने मौन देखिएका छन्। भदौ २६ मा सकिएको नेकपा स्थायी कमिटी बैठकमा विवाद समाधान भएको भनिए पनि असोजको पहिलो हप्ताबाटै नेकपामा विवाद शुरु भएको थियो। र अहिले सचिवलायमा एक अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजनीतिक प्रतिवेदन पेश गरेका छन्। बुधबार बसेको सचिवालय बैठकमा ओलीले जवाफी प्रतिवेदन ल्याउने समय मागेपछि यही मंसिर १३ गतेसम्मको समय दिइएको छ।

यसअघि नेकपाको सामान्य विवादलाई अतिरञ्जित गरेर समाचार प्रशारण गर्ने भारतीय सञ्चार माध्यमहरु भने यो पटक नेकपामा यति चर्को विवाद हुँदा पनि चुपचाप देखिएका हुन्। यो पटक भारतीय सञ्चार माध्यम चुप रहनुको एक र महत्वपूर्ण कारण नेपालमा भारतीय सञ्चारमाध्यमको तिब्र विरोध हुनुलाई मानिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूतलाई जोडेर एक भारतीय सञ्चार माध्यमले अतिरञ्जिच सामाग्री प्रशारण गरेपछि नेपालमा भारतीय च्यानलहरु नै बन्द गरिएको थियो। दुईदिनसम्म सबै भारतीय च्यानल बन्द भए भने त्यसपछि हाल भारतीय समाचार च्यानल बन्द छन्। त्यसमाथि नेपालमा क्लिनफिड लागू भएपछि धेरैजसो भारतीय टिभी च्यानल बन्द छन्।

प्रिन्ट र अललाईन समाचार माध्यमहरु पनि यो पटक नेकपा विवादबारे भारतीय सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भएका छैनन। पीटीआईले बुधबारको नेकपा बैठकबारे सामान्य समाचार प्रकाशित गर्नुबाहेक अन्यले त्यति महत्व दिएको देखिएको छैन।

यसअघिको नेकपा विवादमा प्रधानमन्त्री ओलीले भारतले आफूलाई नेपाली नेताहरुको प्रयोग गरेर सत्ताबाट हटाउने चलखेल गरेको आरोप लगाएका थिए। र सीमा विवादका कारण नेपाल र भारतबीच सम्बन्धमा चिसोपन आएको थियो।

अहिले परिस्थिति बदलिएको छ। ओलीले नेकपाको विवादमा भारतलाई मुछेका छैनन्, बरु भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीले गरेको भेटलाई लिएर अर्का अध्यक्ष प्रचण्डले प्रश्न उठाएका छन्। यतिमात्र होइन, गोयल र भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणपछि दुईदेशबीचको सम्बन्धमा न्यानोपन देखिएको छ। भारतीय विदेश सचिव नेपाल आउने लगभग पक्का भइसकेको छ।

यस्तो परिस्थिति बेनकाले पनि भारतीय सञ्चार माध्यहरु यो पटक मौन देखिएका हुन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *