पार्टी कार्यकर्तालाई केका लागि तयार रहन भनेका हुन् ईश्वर पोखरेलले ?
काठमाडौं। बुधबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएपछि नेकपा नेताहरुले एकपछि अर्को स्टाटस लेखिरहेका छन्। सचिवलाय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लेखेको स्टाटसले नेकपाको विवाद झन कठिन मोडमा पुगेको संकेत गरेको छ।
पोखरेलले कुराहरु बुझेर तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘नेकपाको सचिवालयको बैठकको सार कुराः आफूमाथि लगाइएका ‘तथ्यहीन, आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू’ लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले , सचिवालयको बैठकमा। त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ, उहाँले। यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ। यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता , कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं।’
उपप्रधानमन्त्री पोखरेल प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली निकटका नेता हुन्। उनले प्रधानमन्त्री ओलीले बुधबारको बैठकमा राखेको धारणालाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पार्टी गम्भीर मोडमा पुगेको संकेत गरेका छन्।
https://www.facebook.com/PokhrelIshwar/posts/3394914983932015
नेकपाको सचविालयमा ओलीमाथि संगीन आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल शुरु भएको छैन।
बुधबारको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन ल्याउने भनेपछि १० दिनको समय दिएको छ। कुरा स्पष्ट छ, प्रचण्डको प्रतिवेदन फिर्ता नभए सो प्रतिवेदन पारित हुनेछ। किनकी प्रचण्डले आफूलागयत सचिवालयका पाँच सदस्यको सहमतिमा सो प्रस्ताव ल्याएका हुन्। प्रधानमन्त्रीले ल्याउने प्रस्ताव प्रचण्डको प्रस्तावको प्रतिउत्तरमात्र हुनेछ। सो पारित हुने सम्भावना अहिलेलाई छैन। जब आफ्नो प्रतिवेदन असफल हुन्छ, ओली झन संकटमा फस्ने छन्।
Facebook Comment