अनि गए ओली बैठकमा
काठमाडौं। राजनीतिक सरगर्मी बुधबार बिहानसम्म यस्तो थियो, सत्तासीन दल नेकपा अब विभाजनतिर गयो। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ पार्टी सचिवालयको बैठककै समयसँग ‘जुधाएर’ मन्त्रिपरिषद् बैठक बोलाइएको सूचना मन्त्रीकहाँ पठाएका थिए।
तर, बुधबार बिहानै प्रधानमन्त्री ओलीलाई उनीनिकट नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले भेट गरे। पार्टी बैठक छल्ने भनेर असन्तुष्ट पक्षले लगाउँदै गरेको आरोपलाई बल पुग्ने गरी मन्त्रिपरिषद् बैठक राख्न नहुने सुझाव केही नेताले दिए।
प्रधानमन्त्री ओली त्यसअघि आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावको कुनै जवाफ नदिने, प्रस्ताव फिर्ता नभएसम्म संवादमा नबस्ने र बैठकसमेत हुन नदिने अडानमा थिए। तर, ओलीलाई आफूनिकट नेताले बैठकको सामना गरेर जाने, दाहालको प्रस्तावको ‘काउन्टर जवाफ’ दिने रणनीति अख्तियार गर्न सुझाएका थिए।
अझै तयारी गरेर जानुपर्ने, जसरी अगाडि बढ्न खोजिए पनि हतारमा निर्णय गर्दा गल्ती हुन सक्ने भएकाले ‘कुलिङ पिरियड’ लिनुपर्ने र अन्तिमसम्म प्रयत्न गर्नुपर्ने दबाब ओलीमा थियो। अर्कातिर चिनियाँ राजदूतले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा पार्टी मिलाउने मुख्य जिम्मेवारी ओलीसँगै रहेकाले पार्टी एकताको पहल लिन आग्रह गरेकी थिइन्।
वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि उनीनिकट दुई मन्त्री योगेश भट्टराई र घनश्याम भुसालले दबाब दिएका थिए। उनीहरूले बैठकमा ओलीलाई हामी ल्याउँछौं तर तपार्इंहरू (दाहाल–नेपाल)ले पनि फाइट टु फिनिस नगरौं, पार्टी एकता जोगाउनुपर्छ भनेका थिए। नेपालले पनि ओली बैठकमा आउँछन् भने ‘ठीकै छ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि भुसालले महासचिव पौडेललाई भेटेर बैठकमा ओलीलाई जसरी पनि ल्याउन आग्रह गरेका थिए।
पूर्वमाओवादी धारका नेताहरूले अर्का अध्यक्ष दाहाललाई ‘फाइट टु फिनिस नगरौं, अझै मिल्ने ठाउँ छ खोजी गरौं’ भन्ने प्रस्ताव गरिरहेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहालसँगको संवादपछि ओलीइतर समूहका नेताहरू बैठक नरोकी अगाडि जान खोजेको प्रस्ट सन्देश आएको भन्दै ओलीलाई बैठक सामना गरेर जाँदा पार्टी एकता जोगिने सुझाव दिएकी थिइन्। त्यसपछि भने ओलीले एकाएक ‘मुड’ परिवर्तन गरी बैठकको सामना गर्ने नीति अख्तियार गरेको नेकपाका एक सचिवालय सदस्यले बताए।
ओलीले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गर्न जानुअघि मन्त्रिपरिषद् बैठक एक घण्टा ढिलो गर्ने गरी सारेका थिए। उनले मंगलबार राति पनि राष्ट्रपतिसँग छलफल गरेका थिए। बैठक सामना गरेर जाने सुझाव आएपछि ओलीले बैठकमा सहभागी हुने निष्कर्ष आफूनिकट नेतालाई सुनाएका थिए। त्यसपछि भने महासचिव पौडेलले अर्का अध्यक्ष दाहाललाई टेलिफोन गरी बैठक निर्धारित समयमा बस्ने र प्रधानमन्त्री पनि सहभागी हुने जानकारी गराएका थिए।
त्यो सन्देशछि खुमलटारमा वरिष्ठ नेता नेपाल र दाहालबीच संवाद भएको थियो। अनि प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, ‘निर्धारित समयमै बालुवाटारमा सचिवालय बैठक बस्छ।’ अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ।
Facebook Comment