नेकपाको विवाद टरेको होइन, सरेको हो

डिसी नेपाल
४ मंसिर २०७७ १२:१६

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किएको विवाद निर्णायक मोडमा पुगेको छ। गएको शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल राजनीतिक प्रतिवेदन पेश गरेपछि विवाद कठिन मोडमा पुगेको थियो भने बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राखेको विचारले विवादलाई निर्णायक मोड दिएको हो।

बुधबार बसेको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई राजनीतिक प्रतिवेदनका लागि १० दिनको समय दिएको छ। बैठकमा ओलीले प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’को जवाफ लिखित रुपमै दिने र त्यसको तयारी नपुगेको बताएका थिए।

त्यसपछि यहि मंसिर १३ गते बैठक बस्ने तय भएको छ। कतिपयले बुधबारको बैठकपछि नेकपामा विवाद समाधान हुने आशा देखेपनि बैठकमा ओलीले राखेको विचार र बैठकपछि ओली निकट नेताहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारले नेकपा विवाद टरेको नभई सरेको संकेत गरेको छ।

बैठकमा ओलीले प्रचण्डले पेश गरेको प्रतिवेदनलाई खारेज गर्दै सो प्रतिवेदन पेश गरेको विधि पनि नमिलेको बताएका छन्। साथै उनले आफूमाथि लगाइएका आरोपलाई गम्भीर रुपमालिएको भन्दै नसहने बताएका छन्।

उनले बैठकमा प्रचण्डको प्रस्तावमा लगाइएका आरोप प्रमाणित भए आफू अध्यक्ष र प्रधानमन्त्री पदमा रहन नमिल्ने र आरोप प्रमाणित हुन नसके आरोप लगाउनेले जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले संकेतमै प्रचण्डले लगाएका आरोप प्रमाणित हुन नसके प्रचण्डले अध्यक्षबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन्।

उता बैठकपछि सचिवलाय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा ओलीले बैठकमा बोलेका कुरा उल्लेख गर्दै कार्यकर्तालाई तयार रहन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले , सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ , उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ। यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता , कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं।’

उता ओली निकट अर्का स्थायी समिति सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि अध्यक्ष ओलीले ल्याउने प्रतिवेदनले पनि नेकपाको एक्ता जोगाउन नसक्ने टिप्पणी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *