यूएईमा १८ महिनाका नेपाली बालकको आमाले नुहाइदिने क्रममा बाथटबमा डुबेर मृत्यु

काठमाडौं। यूएईको शारजाहमा १८ महिनाका एक नेपाली बालकले बाथटबमा डुबेर ज्यान गुमाएका छन् । शारजाहको अल मजाजमा रहेको आफ्नो निवासको बाथटबमा डुबेका उनलाई तत्कालै अल कासिमी अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको हो ।
गल्फ टुडेका अनुसार ती बालककी आमाले उनलाई नुहाइदिँदै थिइन् । यही बीचमा उनले बालकलाई टबमै छाडेर बाहिर निस्किइन् । उनी फर्किंदा बालक अचेत अवस्थामा थिए । बालकलाई उनका मातापिताले तत्कालै शारजाहको अल कासिमी अस्पताल लिएर गए तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो । प्रारम्भिक जाँचका अनुसार ती बालकको ब्रेन ड्यामेजका कारण मृत्यु भएको हो ।
बुहाइराह पुलिस स्टेसनका अधिकारीहरुले यो घटनाबारे थप अनुसन्धान गरिरहेका छन् । अधिकारीहरुले अभिभावकलाई साना बालबालिकालाई जोखिमपूर्ण अवस्थामा एक्लै नछोड्न आग्रह गरेका छन् ।यूएईका अधिकारीहरुले अभिभावकलाई यस्ता घटनाबारे सचेत गराउन शिक्षामूलक भिडियो जारी गरेका छन् ।
Facebook Comment