नास्टको प्रविधिमा स्वाब संकलन गर्न मोबाइल भ्यान
काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारबाट कोरोनाको परीक्षण गर्नका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ। महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरे।
कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको बैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोबाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको बताए।
महानगरपालिकासँग उपलब्ध सीमित जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइएको बताउँदै उनले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुवात गरिएको बताए। ‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर त्यस्ता व्यक्तिका लागि बढी प्रभावकारी हुनेछ’, मेयर शाक्यले भने।
त्यस्ता व्यक्तिको स्वाब संकलनमा विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाइनेछ। शाक्यले कोरोनालाई कमजोर ठानेर लापर्वाह नगर्न सुझाव दिए। ‘सरकारको तर्फबाट हामी लागिरहेका छौँ। स्थानीय व्यक्ति र समूदाय पनि हातेमालो गरेर अघि नबढ्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्न। सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेक्र्याईँ गर्ने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जानसक्छ’ उनले भने।
नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेका नागरिक र कन्ट््याक्ट टे«सिङ्मा परेका शंकास्पद व्यक्तिलाई निशुल्क परीक्षण गर्न महानगरपालिका तयार रहेको उनको भनाई छ। उनले भने, ‘लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफै परिक्षण गर्न पनि अनुराध छ।’
त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालसहित अधिकारीहरु सहभागी थिए। यो भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागले सञ्चालन गर्नेछ।
प्रबिधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्नेछ भन्दै प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइने बताए।
उनले भने, ‘सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ। हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ।’
भ्यानको बिशेषता बताउँदै नास्टका बरिष्ठ प्राबिधिक अधिकृत डा. शंकर ढकालले भने, ‘यसमा जसको स्वाब लिइएको छ। उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ। स्वास्थ्यकर्मीलाई पीपीइ लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो। यस अघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेका छौं।’
यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो। यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो।
सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ। आज सभा गृहबाटै प्रशासन बिभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत अधिकारीहरुको स्वाब संकलन गरियो।
Facebook Comment