चिकित्सकमा कोरोना पुष्टि भएपछि हुम्ला जिल्ला अस्पताल बन्द
सिमकोट । एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।
उनले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताए । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।
कोरोना जोखिमका कारण सबै विद्यालय बन्द
कोभिड–१९ को उच्च जोखिमका कारण जिल्लाका सम्पूर्ण विद्यालय यही मङ्सिर ५ गतेदेखि बन्द भएका छन् ।
उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका–६ को याल्वाङ्ग गुम्बामा आठजनामा कोरोना सङ्क्रमण देखिएपछि प्रजिअ चिरञ्जीवी गिरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मङ्सिर ५ गतेदेखि अनिश्चितकालका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ । रासस
Facebook Comment