क्रियाशील सदस्यताको काम मङ्सिर २० सम्म सक्ने
गण्डकी । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर २० गतेसम्म सक्ने भएको छ ।
कास्की काँग्रेसका पदाधिकारी, पार्टीका क्षेत्रीय, प्रदेशसभा र पोखरा महानगर समितिका सभापतिसहित आज सम्पन्न बैठकले मङ्सिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मङ्सिर २० गतेसम्म नयाँ सदस्यता वितरण सक्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
निर्धारित समयावधि भित्र काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने बताउँदै उनले केन्द्रको निर्देशनानुसार तोकिएको समयभित्र काम सक्ने गरी अघि बढिने बताए ।
यस अघि कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।
बैठकले सरकार पार्टीको आन्तरिक द्वन्द्वमा रुमलिँदा कोरोना महामारी नियन्त्रणप्रति गैरजिम्मेवार बनिरहेको र सङ्क्रमितले उपचारसमेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन दिँदै निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरिएको छ । रासस
Facebook Comment