द्रुत परीक्षण, द्रुत नतिजा अनि काममा फिर्ता, बेलायतमा सेल्फ आइसोलेसन खारेज गरिँदै

डिसी नेपाल
८ मंसिर २०७७ ८:५०

काठमाठौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले एकै पटक ठूलो संख्यामा कोभिड–१९ परीक्षण गर्ने नयाँ योजना ल्याउने भएका छन् । कूल ७ अर्ब पाउण्डको बजेटमा ल्याइने यो योजना भोलि घोषणा गरिने डेलीमेलले जनाएको छ । यसरी सामूहिक रुपमा परीक्षण गर्न थालिएपछि संक्रमणको आशंकामा मानिसहरु २ हप्ताभरी सेल्फ आइसोलेसनमा बस्नुपर्ने छैन । प्रधानमन्त्री जोनसनले आफ्नै ७० जना सांसदले विद्रोह गर्न सक्ने खतरा भएपछि यो कदम चाल्न लागेका हुन् ।

यो कदमले संक्रमितको सम्पर्कमा आएर सेल्फ आइसोलेसनमा बस्न बाध्य हुनुपर्ने हजारौं नागरिक अब सामान्य जीवनमा जान पाउनेछन् । ‘मास टेस्टिङ’मा नतिजा नेगेटिभ आए संक्रमितको क्लोज कन्ट्याक्टमा परेकाहरु पनि सामान्य जीवनमा फर्किन पाउनेछन् । कोभिड–१९ का विषयमा जारी नयाँ सुरक्षाका मापदण्ड अन्तर्गत अब लाखौंको संख्यामा द्रुत परीक्षण केन्द्रहरु उपलब्ध हुनेछन् जहाँ परीक्षण गराएर नतिजा नेगेटिभ आएकाहरु सामान्य जीवनमा फर्किन पाउनेछन्, उनीहरु सेल्फ आइसोलेसन बस्नुपर्ने छैन ।

प्रधानमन्त्री जोनसनले कोभिड–१९ को संक्रमण बढेसँगै नयाँ प्रतिबन्धको घोषणा गरेका थिए । तर, उनकै पार्टीका ७० जना टोरी सांसदहरुले प्रधानमन्त्रीले यी मापदण्ड प्रभावकारी छन् भन्ने प्रमाणित गर्न नसके यी मापदण्डको अवज्ञा गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले यो नयाँ योजना ल्याएका हुन् । कोभिड रिकभरी ग्रुपका सांसदहरुले आइतबार बेलुका प्रधानमन्त्रीलाई लिखित पत्र बुझाउँदै प्रधानमन्त्रीले लागू गरेका नयाँ मापदण्डको खर्च र त्यसबाट हुने उपलब्धीको विस्तृत विश्लेषण मन्त्रिपरिषदमा पेश गर्न माग गरेका थिए ।

प्रधानमन्त्रीले घोषणा गर्न लागेको नयाँ योजनामा मानिसहरुको अत्यन्तै द्रुत प्रक्रियाबाट परीक्षण गरिन्छ जसको नतिजा ३० मिनेटभित्रै आउँछ । मन्त्रीहरुले यो नयाँ योजनाबाट मानिसहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यकारी अवस्थाबाट मुक्ति दिन सकिने र यो अर्थतन्त्रलाई चलायमान बनाउनको लागि क्रान्तिकारी कदम हुने विश्वास गरेका छन् । यो नयाँ योजनामा कोभिड–१९ संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले एक हप्तासम्म हरेक दिन परीक्षण गराउन पाउनेछन् । परीक्षणमा नतिजा नेगेटिभ आए उनीहरु तत्कालै सामान्य जीवनमा फर्किन पाउनेछन् ।

उनीहरु १ हप्तासम्म भने यो प्रणालीमा बाँधिएर रहनुपर्नेछ । अर्थात, नतिजा नेगेटिभ आएर सामान्य जीवनमा रहन पाए पनि उनीहरुले एक हप्तासम्म भने नियमित परीक्षण गराइरहनुपर्नेछ जसका लागि दिनको एक पटक परीक्षण केन्द्र पुग्नुपर्नेछ । सातौं दिन पनि नेगेटिभ नतिजा आएपछि भने उनीहरु यो प्रणालीबाट पूर्ण रुपमा मुक्त हुनेछन् ।

यो योजनाको सुरुवात लिभरपुलबाट गरिनेछ र त्यहाँ ठूलो संख्यामा परीक्षणको व्यवस्थापनको जिम्मा सेनालाई दिइएको छ । यहाँ सफल भएमा डिसेम्बरमा यो योजना नेशनल हेल्थ सर्भिसका स्टाफहरुको लागि उपलब्ध हुनेछ र जनवरीदेखि आम सर्वसाधारणका लागि उपलब्ध हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *