तीन महिनामा विदेशबाट भित्रियो साढे २ खर्ब
काठमाडौं। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन अनुसार असोजसम्ममा विदेशमा रहेका नेपालीबाट २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको छ।
गत बर्षको सोही अवधिमा नेपालमा ५.१ प्रतिशतले रेमिट्यान्स घटेको थियो।
चालु आवमा भदौसम्ममा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा मात्र ९३ अर्ब १३ करोड रुपैयाँ आएको छ। साउनमा ९२ अर्ब ७० करोड, भदौमा ७३ अर्ब ०३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ।
दशै, तिहार, छटलगायतका पर्वका कारण पनि असोजमा रेमिट्यान्स आप्रवाह उच्च भएको हो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ।
असोजसम्ममा तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या
९६.८ प्रतिशतले घटेको छ। यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ।
कोभिड–१९ को महामारीका कारण बैदेशिक रोजगारीमा मन्दी आई रेमिट्यान्समा असर पर्ने आकंलन गरिएपनि हालसम्म ठूलो असर देखिएको छैन।
महामारीका कारण हुन्डीलगायतका अवैधानिक च्यानल बन्द हुँदा बैधानिक च्यानल हुँदै आउने रेमिट्यान्स बढेको केन्द्रीय बैंकले अनुमान गरेको छ।
Facebook Comment