विश्वयुद्ध, विमान दुर्घटना र क्यान्सर जितेकी महिलाले कोरोना जितेर सयौं जन्मदिन मनाइन्

डिसी नेपाल
११ मंसिर २०७७ १२:४१

काठमाडौं। एक महिलाले पहिले विश्वयुद्धको कहालीलाग्दो अवस्थामा युद्धमा खटिएका बेला मृत्युलाई जितिन् । अहिले उनले कोरोनाभाइरसलाई पनि हराएकी छिन् । बेलायतकी यी महिला एक पटक होइन पटक–पटक मृत्युको मुखमा पुगिन् तर हरेक पटक उनले मृत्युलाई जितिन् । द गार्डियनको रिपोर्टअनुसार यी महिला बेलायतको लण्डनकी हुन् र उनको नाम जो एन्ड्रयु हो ।

यी महिलाले कोरोनाभाइरसलाई पनि जितेर आफ्नो १०० औं जन्मदिन मनाएकी छिन् । जो एन्ड्रयु मे महिनामा कोरोनाभाइरस संक्रमित भेटिएकी थिइन् । उनको स्थिति देखेर उनको उपचार गरिरहेका केयर होमका स्टाफले पनि उनी जीवित रहन सक्छिन् भन्ने आशा गरेका थिउनन् तर एन्ड्रयुले जीवनको युद्धलाई फेरि एक पटक जितिन् र कोरोनाभाइरसलाई पराजित गरिन् ।

एन्ड्रयुको जन्म सन् २०२० मा उत्तरी लण्डनमा भएको थियो । उनी त्यहीँ हुर्किइन् र त्यही पढिन् । त्यसपछि उनी सेनाको महिला अक्सिलरी एयर फोर्समा सार्जेन्टको रुपमा भर्ती भइन् । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । उनलाई बम्बर कमाण्डको अपरेशन रुममा खटाइयो । यो बम्बर कमाण्डले जर्मनीमा विमानबाट बम वर्षा गर्ने रणनैतिक काममा मुख्य भूमिका निभाएको थियो ।

युद्धपछि एन्ड्रयूलाई जर्मनीको डसेलडर्फमा खटाइयो । उनी त्यहाँ एक वृद्ध दम्पतीसँग बस्नुपर्यो जसकी एक छोरी थिइन् र उनी नाजी थिइन् । नाजीहरुले यहुदीहरुलाई दुश्मन सम्झिन्थे । जर्मनीमा रहँदा उनलाई एक जना ड्राइभर उपलब्ध गराइएको थियो जसले उनी जहाँ जान चाहन्थिन् त्यहाँ लैजान्थे ।

‘यस क्रममा उहाँ बर्लिन जानु परिरहन्थ्यो जहाँ उहाँ रिस्टागका अवशेषहरुमा एक्लै घुम्नुहुन्थ्यो । उहाँ नुरेम्बर्गको इजलासमा पनि जानु पर्यो किनकि यो उहाँको लागि महत्वपूर्ण थियो’ जोकी छोरी मिशेल एन्ड्रयुले भनिन् ‘एक दिन ड्राइभर उनलाई गाडिमा लिएर हिँडे र बाटोमा उनलाई मार्ने उद्देश्यले कार दुर्घटना गराए । उहाँको अनुहारमा अहिले पनि त्यो हत्या प्रयासमा लागेको चोटको खत छ । ती ड्राइभर पक्राउ परे र उनी नाजी भएको खुलासा भयो ।’

त्यसपछि जोले ब्रिटिश ओभरसीज एयरवेज कर्पोरेशनमा काम गर्न थालिन् जहाँ उनी पहिलो एयर होस्टेसमध्येकी एक थिइन् । एक उडानको क्रममा जहाज उडिरहेका बेला इन्धन सकियो । विमान लिबियामा खसेर दुर्घटनाग्रस्त भयो । ‘क्रु सदस्यहरु बाँचे तर एक यात्रु मरे । उनीहरु सबै मरुभूमिमा फसे र पछि बेदुहरुले उनीहरुलाई उद्धार गरेका थिए’ मिशेलले भनिन् ।

१९७० को दशकमा एन्ड्रयुलाई स्तन क्यान्सर भयो तर उनले यसलाई पनि जितिन् । उनका पति डेभिड एन्ड्रयु रोयल एयरफोर्समा स्क्वाड्रन लिडर थिए र उनको भने २०१३ मा क्यान्सरकै कारण मृत्यु भयो । एन्ड्रयुलाई अहिले डिमेन्सिया छ र योर्कमा मिन्स्टर ग्रेन्ज केयर होममा बस्छिन् । उनलाई १६ मेमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो तर उनले त्यसलाई पनि जितिन् । अहिले उनले आइतबार १०० औं जन्मदिन मनाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *