स्मार्ट ग्रीड सिस्टममा प्राधिकरणलाई लिन सके उपभोक्ताले गुणस्तरीय सेवा पाउछन् : प्राधिकरण
काठमाडौं। नेपाल विद्युत प्राधिकरण पछिल्लो समयमा स्मार्ट ग्रीडको अवधारणामा काम गरिरहेको छ। ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत आपूर्ति सहितको आधुनिक सेवाका लागि नेपाल विद्युत प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा अग्रसर भएको हो।
डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रीड विस्तारका लागि प्राधिकरणले काम गरिरहेको छ।
विद्युतउत्पादन, प्रशारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथा विद्युत सम्वन्धी विश्वव्यापी रुपमा अपनाइएका नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको विद्युत प्राधिकरणले जनाएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा विहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रीडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको जानकारी दिए।
उनका अनुसार, विद्युत प्राधिकरणले आफ्नो बन्ने संरचना तथा सेवाहरुलाई डिजिटलाइज गर्दै अघि बढेको छ। “स्मार्ट ग्रीड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरीय विद्युत उपभोक्तालाई दिन सक्छौं र विद्युत प्राधिकरणको प्रणाली पनि शसक्त हुन्छ, हामीले विद्युत उत्पादनदेखी प्रशारण लाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौं”, उनले भने।
उनले भने, “जसमा विद्युत उत्पादनदेखी उपभोक्ताको घरसम्म पुग्ने विद्युतको समग्र प्रणालीलाई एउटा विस्तृत फ्रेमवर्क भित्र अटाउन सकिन्छ। संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिएका छौं, सर्वसाधारणको घरसम्मपुग्ने स्मार्ट मिटर लगायतका काम तीव्र गतिमा अघि बढेको छ।’
उनका अनुसार, मुख्य रुपमा नेपाल सरकार तथा प्राधिकरणकै मास्टर प्लान अनुसार हाम्रा सवै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधि मैत्री (डिजिटलाइज्ड एनईए) बनाउनका लागि काम भइरहेको छ। नेपाल सरकारले दुई बर्ष अगाढी ल्याएको डिजिटल नेपाल फ्रेमवर्क ल्याएको छ।
कार्यक्रमा बोल्दै एसियाली विकास बैक (एडीबी) नेपाल कन्ट्रि मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरैदेशहरुले विद्युतको क्षेत्रलमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको र नेपालले पनि वर्षौं पुराना विद्युतका संरचनाहरुलाई समयसापेक्ष रुपमा स्तरोन्नति गरी विद्युत उपभोक्तालाई समयसापेक्ष अनुसारको सेवा तथा सुविधा दिनुपर्ने देखिन्छ र एडीबी यो कार्यका लागि नेपाल सरकारसँग निरन्तर सहकार्यमा अगाडि बढिरहेको बताए।
Facebook Comment