पुनःनिर्माणका अनुभव र सिकाइसम्बन्धी कार्यपत्रमाथि छलफल

डिसी नेपाल
१३ मंसिर २०७७ ९:४९

काठमाडाैं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाइबारे तीन विषयका अनुभवमाथि छलफल गरिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको संस्थागत पत्रको तयारीका सिलसिलामा बनाइएको प्रारम्भिक खाकामा मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको दुई दिने वेबिनारमा निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक तथा सरकारी भवन एवं पूर्वाधार पुनःनिर्माणमा हासिल भएका अनुभव आदानप्रदान गरी त्यसमाथि टिप्पणी गरिएको हो।

सार्वजनिक भवन एवं पूर्वाधार पुनःनिर्माण खासगरी ठूला सार्वजनिक संरचना, अस्पताल, सरकारी तथा सुरक्षा निकायका भवन, सडक तथा पुल, विद्यालय तथा सरकारी कार्यालयको पुनःनिर्माणमा प्राप्त अनुभव तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।

ती विषयमाथि क्रमशः पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्याल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक अमृत श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना उपनिर्देशक डा युवराज पौडेल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना उपनिर्देशक राजु न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रमाथि चीनले सहयोग गरिरहेका पुनःनिर्माण परियोजनामा संलग्न चिनियाँ विज्ञ लु यिन, जाइकाका कृष्ण लम्साल र स्वतन्त्र विज्ञ पूर्णप्रसाद कडरियाले टिप्पणी गरेका थिए। तेस्रो सत्रको अध्यक्षता प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुलीले गरेका थिए।

निजी अवास पुनःनिर्माणसम्बन्धी कार्यपत्र प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरे। कार्यपत्रमा डा श्रेष्ठले ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माणको प्रगति उत्साहजनक भए पनि शहरी क्षेत्रमा जग्गा तथा आर्थिक अवस्था कारण तुलनात्मकरुपमा कम रहेको उल्लेख गरे।

श्रेष्ठको कार्यपत्रमाथि विश्व बैंकका कामरान अकवर, पुनःनिर्माण विज्ञ नाइजल फिसर, जाइकाका रामप्रसाद भण्डारी, स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ म्यागी स्टेफेनसनले टिप्प्णी गरेका थिए।

सम्पदा सत्रमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनःनिर्माणको पछिल्लो अवस्था एवं अनुभव संलग्न गरेर कार्यपत्र प्रस्तुत गरेका थिए। सोही विषयमा काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) का रोहित रञ्जितकारले पनि विश्व सम्पदा सूचीका सम्पदाको क्षति र पुनःनिर्माणको अवस्थाबारे कार्यपत्र पेश गरे।

सांस्कृतिक सम्पदाका दुवै कार्यपत्रमाथि युनेस्कोका क्रिस्टियन म्यानहर्ट, सम्पदा विज्ञ रोहित जिज्ञासु, सम्पदा विज्ञ प्रा डा सुदर्शनराज तिवारीले टिप्पणी गरे। चीनको सहयोगमा पुनःनिर्माण भइरहेका नौतले दरबारमा संलग्न चिनियाँ सम्पदा विज्ञ क्वाओ क्वानरुले पनि टिप्पणी गर्दै नेपालको सम्पदा पुनःनिर्माणमा प्राप्त अनुभव सुनाएका थिए। दोस्रो सत्रको अध्यक्षता प्राधिकरणका निर्देशक समिति सदस्य एवं पूर्वसचिव किशोर थापाले गरेका थिए।

बेविनारको उद्घाटन गर्दै प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञ तथा अभ्यासकर्ताको सुझावले कम्पेडियमलाई पूर्णता दिन मद्दत मिल्ने उल्लेख गरेका थिए। त्यसक्रममा उनले प्राधिकरणले विभिन्न दस्तावेजमार्फत पुनःनिर्माणका अनुभव र सिकाइ अभिलेख गर्न लागिरहेको जानकारी पनि दिए।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतका अनुभव र सिकाइका आधारमा पुनःस्थापना र पुनःनिर्माणका बाँकी काम अगाडि बढाइने बताए। प्राधिकरणले आगामी वर्ष आयोजना गर्ने नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने गरी सातवटा विषयगत क्षेत्रमा ‘कम्पेण्डियम’ तयार गरिरहेको छ।

वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनःनिर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता छ। दोस्रो दिन आज जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुतीकरणमा ती कार्यपत्रमाथि छलफल हुनेछ। प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनःनिर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको सम्बन्धमा पनि सुझाव सङ्कलन गरिनेछ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *