भारतका पूर्वराजदूतको नेपालविरुद्ध आक्रोश : चीनका रक्षामन्त्रीलाई ल्याउनु नेपालको असंवेदनशीलता

डिसी नेपाल
१४ मंसिर २०७७ १३:३४

काठमाडौं। चीनका रक्षामन्त्री वेई फेङ्हेको एकदिने व्यस्त नेपाल भ्रमणबारे भारतीय कुटनीतिज्ञ रञ्जित रेले अस्वाभाविक प्रतिक्रिया जनाएका छन्।

विगत लामो समयदेखि नेपाल भारतसम्बन्धमा आएको तिक्ततालाई पन्छाउँदै सैनिक र विदेश मन्त्रालयस्तरमा सम्बन्ध सुधारको पहल भइरहेको बेला उनको नेपाल र नेपालीलाई उत्तेजित पार्ने प्रतिक्रिया आएको हो।

नेपालका लागि भारतका राजदूतसमेत भइसकेका रञ्जित रेले चीनका रक्षामन्त्रीलाई बोलाएर नेपालले भारतप्रति असंवेदनशीलता देखाएको आरोप लगाए।नेपालको स्वतन्त्रता र स्वाधिनतालाई ठाडै चुनौती दिँदै विवेकानन्द फाउण्डेसनको केही दिनअघि सम्पन्न एउटा छलफल कार्यक्रममा पूर्वराजदूत रेले चीनलाई नेपालमा निम्ता गरेकोमा आपत्ति जनाए।

नेपालले आफ्ना छिमेकी तथा मित्रराष्ट्रहरुसँग कस्तो सम्बन्ध राख्ने, कसरी सम्बन्धलाई अघि बढाउने भन्ने कुरा स्वतन्त्र र सार्वभौमराष्ट्रको हैसियतले नेपालको अधिकारको कुरा हो। यसमा समय समयमा हस्तक्षेप गर्ने र पाठ पठाउन खोज्ने दुष्प्रयास भारतीयहरुले गर्दै आएका छन्।

नेपालले आफ्ना छिमेकी तथा मित्रराष्ट्रहरुसँग कस्तो सम्बन्ध राख्ने, कसरी सम्बन्धलाई अघि बढाउने भन्ने कुरा स्वतन्त्र र सार्वभौमराष्ट्रको हैसियतले नेपालको अधिकारको कुरा हो। यसमा समय समयमा हस्तक्षेप गर्ने र पाठ पठाउन खोज्ने दुष्प्रयास भारतीयहरुले गर्दै आएका छन्।

यस्तै दुष्प्रयासका कारण नेपालमा भारतविरोधी भावना दिनप्रतिदिन बढेको पनि छ। त्यसमा पनि पूर्वराजदूत रञ्जित रे त्यस्ता व्यक्ति हुन् जसको कार्यकालमा नेपालले सन् २०१५ मा अमानवीय नाकाबन्दी भोग्नु प-याे।

भूकम्पले थिलथिलो भएको नेपालप्रति उनले एकरत्ति पनि मानवीय संवेदनशीलता देखाउन चाहेनन् र उनी राजदूतको रुपमा रहँदा रहँदै भारतले नेपाललाई महिनौं लामो नाकाबन्दी गरेर प्रताडित गरेको थियो। तिनै रञ्जित रेले नेपालले भने भारतप्रति संवेदनशील व्यबहार गर्नु पर्ने तर्क गरेका छन्।

भारत र चीनका बीचको सम्बन्ध तनावपूर्ण भएको अवस्थामा नेपालले चीनका रक्षामन्त्रीलाई बोलाएकोमा उनको आक्रोश र आपत्ति थियो। भर्चुअलरुपमा सम्पन्न सो कार्यक्रममा उनले भने, ‘भारत र चीनबीचको अवस्था तनावपूर्ण भएका बेला चीनका रक्षामन्त्रीलाई नेपालमा स्वागत गर्नु नेपालको असंवेदनशीलता हो। नेपालीपक्ष भारतको संवेदनशीलताप्रति कुनै वास्ता गर्दैन भन्ने यो कुराले देखाएको छ।’

उनले दुई वर्षभित्र चीनका रक्षामन्त्रीको यो दोस्रो नेपाल भ्रमण भएको भन्दै भ्रमणको उद्देश्य स्पष्ट नभएको दावी गरेका थिए। उनले नेपालको आन्तरिक राजनीतिमा चीनले चासो बढाउँदै लगेको बताउँदै सत्तारुढ दल नेकपाभित्र विवाद हुँदा नेपालका लागि चीनका राजदूत प्रचण्ड र ओली मिलाउन सक्रिय भएको रिपोर्टहरु आइरहेको सुनाएका थिए। उनले प्रधानमन्त्री ओलीको विरोध गर्दै कोभिड १९ को व्यबस्थापनमा असफल भएको आरोप पनि लगाएका थिए।

भारतीय भूमिमा नेपालका राजनीतिक दलहरुलाई जुटाएर १२ बुँदे सम्झौता गराउँदा भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कका प्रमुखसमेत रहेका रेले आन्तरिक राजनीतिमा चीनले चासो राखेकोमा आपत्ति जनाउन कुन नैतिकताले सम्भव भयो होला? के पूर्वराजदूत रेले यसको जवाफ दिन सक्लान्?

कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र नेकपाका सांसद दीपकप्रकाश भट्टको पनि सहभागिता थियो। पूर्वसेनापति कटवालले भारतको केही बर्षअधिको नेपाल नीतिप्रति कटाक्ष गर्दै भारतीय भूमिका नेपालका तत्कालीन आतंककारी माओवादीहरुलाई आश्रय, सुरक्षा र साधन स्रोतसमेत दिएको बताएका थिए।

उनले भारत, अमेरिका र इयू मिलेर तत्कालीन राजालाई चीनतिर पल्टिएको दोष लगाई भारतको सक्रियतामा राजतन्त्र अन्त्य गर्न माओवादीसँग सहकार्य गरेको धारणा राख्दै भारतीय पूर्वराजदूत रेसमेतको भारतीय टोलीलाई जवाफ दिएका थिए।

उनले भारतकै गलत नीतिका कारण नेपाल भारतका बीच समस्या आएको बताउँदै विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भएको मुलुक भारतले साना छिमेकीप्रति हृदय ठूलो राख्नुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *