नेपालसँग सैन्य सहकार्य बढाउने चिनियाँ सन्देश

डिसी नेपाल
१४ मंसिर २०७७ १९:००

काठमाडौँ। उत्तरी छिमेकी मुलुक चीनले नेपालसँगको सैन्य सहकार्यलाई बढाउने सन्देश दिएको छ। नेपालको एकदिने औपचारिक भ्रमणमा आएका चीनका स्टेट काउन्सीलर तथा रक्षामन्त्री जनरल वेई फेङ्गहेले आइतबार काठमाडौंमा रहँदा गरेका भेटवार्तामा सैन्य सहकार्यलाई जोड दिएका छन्।

रक्षामन्त्रीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र जनरल वेईबीच जंगी अड्डामा सैन्य सहकार्यका विषयमा कुराकानी भएको छ।

रक्षामन्त्री जनरल वेईले जंगी अड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासँग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गरेका थिए। उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

सो भेटवार्ता पछि उनी सहितको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो। कोरोना महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको नेपाली सेनाले जनाएकोछ।

रक्षामन्त्री जनरल वेई र उनको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिएका छन्। त्यसै अवसरमा जनरल वेईले नेपाली सेनाको कोरोना महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *