शेयर बजारमा उछाल : अर्थतन्त्रमा सुधार आएमात्र शेयर बजारको वृद्धि टिकाउ

डिसी नेपाल
१५ मंसिर २०७७ १३:१८

काठमाडाैं। पछिल्लो समय शेयर बजारमा कारोबार रकमले उचाई लिने क्रम जारी छ। प्रत्येक दिन शेयर बजारले ऐतिहासिक रेकर्ड कायम गर्दै गएको छ। आइतबार हालसम्मकै उच्च रकमको शेयर कारोबार भएको छ।

यो दिन रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो। केही समय अगाडि साप्ताहिक कारोबारसमेत ६ अर्ब नपुगेकोमा अहिले दिनकै यति धेरै कारोबार भइरहँदा शेयर बजारमा खुशीयाली छाएको छ।

कारोबार रकमसँगै शेयरबजार सूचक नेप्से पनि उकालो लागिरहेको छ। त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोवार रकमले दिन प्रतिदिन नयाँ उचाई चुम्दै छ। २०७३ साउनमा नेप्से सर्वाधिक उच्चविन्दु १ हजार ८ सय ८१ मा पुगेको थियो। सोमबारसम्म नेप्से त्यो विन्दुलाई पार गरेर २००० विन्दु नाघेको छ।

शेयरबजारमा बढी पैसा आएको देखिए पनि अन्य क्षेत्रमा लगानी बढेको देखिएको छैन। यस्तोमा समग्र अर्थतन्त्रमा सुधार आएमात्र शेयरबजारको वृद्धि टिकाउ हुनसक्ने अर्थविद् रघुवीर विष्टको धारणा छ। अर्थतन्त्रमा सबैजसो सूचक नकारात्मक छन्। तर, शेयरबजारमा एक पछि अर्को रेकर्ड कायम हुँदा सर्वसाधारण मानिसहरु रनभुल्लमा परेका छन्।

अहिले लगानीका लागि पैसा उपलब्ध भएकाले कारोबार रकम यसरी बढेको हो। कोरोना महामारीका कारण धेरैको आम्दानी घटे पनि निरन्तर पारिश्रमिक पाइरहने सरकारी कर्मचारीलगायतले लगानी गरेको देखिन्छ।

खासमा अहिले लगानीका लागि पैसा उपलब्ध भएकाले कारोबार रकम यसरी बढेको हो। कोरोना महामारीका कारण धेरैको आम्दानी घटे पनि निरन्तर पारिश्रमिक पाइरहने सरकारी कर्मचारीलगायतले लगानी गरेको देखिन्छ।

उनीहरूको बचत बढेको छ र बचतमा पाइने ब्याजदर अत्यन्त न्यून छ। त्यसैले अघिल्ला आर्थिक वर्षहरूमा भन्दा मुनाफा घटेको विवरण सार्वजनिक गरेका कम्पनीहरूको शेयर मूल्यसमेत बढेको छ।

अहिले लगानीका लागि अन्य अवसर प्राप्त नभएकाले बचत रकम न्यून ब्याजदरमा बैंकमा राख्नभन्दा सस्तोमा शेयर उठाउन फाइदा देखेर लगानीकर्ताले शेयर उठाइरहेको देखिन्छ। अहिले बैंकको ब्याजदर निकै तल झरेको छ। बैंकहरूको लगानीको क्षेत्र संकुचित हुँदा उनीहरूले शेयर धितोपत्रमा कर्जा प्रवाह बढाइरहेका छन्। त्यसले पनि शेयरबजारमा लगानी रकम बढेको देखिन्छ।

शेयरबजारले नरुचाएका डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्नु र नयाँ अर्थमन्त्रीका रुपमा अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन हुनुलाई पनि शेयरबजार बढ्नुको कारण मानिएको छ। खतिवडा बजारप्रति नकारात्मक भएको सोचइ लगानीकर्तामा पाइन्थ्यो भने नवनियुक्त अर्थमन्त्री पौडल सकारात्मक रहेको सोचाइ लगानीकर्तामा पाइन्छ। यो तथ्यले पनि केही हदसम्म शेयर बजार प्रभाव पारेको छ।

खासगरी, अनलाइनबाट कारोबार हुने भएकाले सक्रिय लगानीकर्ता बढेको अनुमान छ। बढ्दो इन्टरनेटको पहुँचले शेयरमा लगानी गर्न सहज भएको छ। देशैभरका लागनीकर्ताले आफ्नो घर घरबाटनै लगानी गर्न पाउनुले पनि शेयर बजारमा उछाल आएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार हाल १ लाख ७५ हजारभन्दा बढी लगानीकर्ताहरू अनलाइन कारोबार प्रणालीमा आबद्ध भएका छन् र ८४ प्रतिशत कारोबार अनलाइनमार्फत हुने गरेकाे नेपाल स्टक एक्चेन्जले जनाएकाे छ।

लगानीको सामान्य सिद्धान्तअनुसार बजार घटेको समयमा सेयर खरिद गर्ने र बढेको समयमा बिक्री हुने हो तर नेपालमा लगानीकर्ताको फरक मनोविज्ञान देखिने गरेको छ। जसअनुसार बजार बढेको समयमा नयाँ लगानीकर्ता बजार भित्रिन्छन् भने घटेको समयमा बाहिरिन्छन्।

यस्तो मनोवृतिले साना लगानीकर्ता नोक्सानमा पर्ने सम्भावना धेरै हुन्छ। त्यसैले सोचविचार गरेर शेयरमा लगानी गर्नुपर्ने बताउँछन अर्थविद् विष्ट।
त्यस्तै कोभिड–१९ को महामारी नियन्त्रणका लागि सबै राष्ट्रका सरकारले राहतका कार्यक्रम ल्याएपछि विश्वभर नै शेयर बजारले नयाँ रेकर्ड बनाएको छ।

अहिले कोभिड भ्याक्सिनको आविष्कार भएको समाचारले विश्वभर शेयरबजार बढिरहेको छ। सुनको मूल्यमा कमी आउन थालेको छ। यसको पनि केही हदसम्म नेपाली शेयर बजारमा प्रभाव परेको छ। यसले मानिसहरू अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वासमा लागेको देखिन्छ र एक किसिमको हल्लामा लागेर शेयर बजारमा लगानी गर्नेहरु पनि छन्।

पछिल्लो समय शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका छन्। बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनिहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु, र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ। त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ।

शेयर बजारलाई अर्थतन्त्रकै ऐनका (प्रतिविम्ब) का रूपमा हेरिन्छ। तर सीमित क्षेत्रका कम्पनीको मात्र बाहुल्य रहेकाले नेपाली सेयर बजारले अर्थतन्त्रको दिशा विपरीत प्रवृत्ति देखाउँदै आएको जानकारहरु बताउँछन्।

कारोबारमा आएकामध्ये व्यापार, होटेल, निर्जीवन बीमा र उत्पादन समूह भने घटेका छन्। त्यस बाहेकका सबै समूह बढेका छन्। शेयरबजारमा बढी पैसा आएको देखिए पनि अन्य क्षेत्रमा लगानी बढेको देखिएको छैन। यस्तोमा समग्र अर्थतन्त्रमा सुधार आएमात्र शेयरबजारको वृद्धि टिकाउ हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *