ओली–प्रचण्ड आमने सामने
![ओली–प्रचण्ड आमने सामने](https://www.dcnepal.com/wp-content/uploads/2020/12/oliprachanda.jpg)
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक-फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । सचिवालय बैठकमा अध्यक्षद्वयको फरक/फरक राजनीतिक प्रतिवेदन पेस भएपछि विवाद र आरोप(प्रत्यारोप झन बढ्दै गएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहुमत सचिवालयको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मान्नुपर्ने बताउँदै आएका छन् । तर अध्यक्ष ओली पक्षले भने पार्टीको अन्तरिक विधानअनुसार सहमति कायम गरेर अगाडि बढनुपर्ने अडान राख्दै आएका छन् ।
दुवै पक्षले आ–आफ्नो अडान कायमै राखेको अवस्थामा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने भएको छ । बहुमतीय प्रक्रियाबाट निर्णय भएको अवस्थामा पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा पर्ने दाबी गरिएको छ ।
प्रचण्डले पेस गरेको १९ पेजको राजनीतिक प्रतिवेदनका विरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफी राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ। दुई अध्यक्षबीच देखिएको आरोप–प्रत्यारोपको कारण पार्टी एकता नै संकटमा पर्ने चिन्तासमेत पार्टीभित्र देखापरेको एक स्थायी समिति सदस्यले बताए ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले त्याग गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने माग गरिएको छ भने ओलीको प्रतिवेदनमा गत भदौ २६ गते स्थायी कमिटी बैठकले गरेको निर्णयको आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
Facebook Comment