निर्यात व्यवसायलाई बिशेष जोड दिने गरी काम गर्ने महासंघ अध्यक्ष गेल्छाको प्रतिक्रिया
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्ने बताएका छन् ।
महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार निर्यात व्यवसायी महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अबको एक सय दिनभित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए ।
उक्त कार्यक्रममा बोल्दै गोल्छाले भने, ”अहिले अर्थतन्त्रको इन्जिनको रूपमा रेमिट्यान्स मात्र रहेको छ । कुनै पनि वेला रेमिट्यान्समा कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रूपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गर्न हामी १ सय दिनभित्र स्पस्ट धारणा ल्याउछौं।”
त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फन्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने उनको भनाई छ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवर्द्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए ।
फरक प्रसंगमा बोल्दै ढकालले निर्वाचनअगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा सौहार्दताका साथ काम गर्ने बताए।
Facebook Comment