अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौँ : डा. खेम कार्की

डिसी नेपाल
१७ मंसिर २०७७ २३:३६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा कार्कीले कोभिड–१९ संक्रमणदर नेपालमा घटेको दाबी गरे । उनले विश्वका कतिपय देशमा संक्रमणको दोस्रो लहर देखिएको सुनाउँदै नेपालमा पनि त्यो खतरा रहेको सुनाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा कार्कीले नेपालमा संक्रमणको दर घट्नु भनेको खुशीको कुरा भएको जनाए । उनले भने,‘सेकेण्ड वेभ आयो भने कसरी हामी जुध्ने भनेर दरिलो तयारी गर्नुपर्छ । हुन त कोभिड हामी सबैको लागि नयाँ कुरा भयो, अहिले कोरोना आएको पनि एक वर्ष पुग्न लाग्यो, यसबारेमा अझै धेरै जानकारी छैन् । उपचारको सवालमा सरकारले क्षमता अभिवृद्धि गरिरहेको छ । सरकारले ६ हजार एचडियु निर्माणको लागि देशभरि पैसा पठाएका छौं ।’

उनले कोडिभको उपचारका लागि सरकारले यथेष्ट बेडपनि छुट्याएको सुनाए । यसअघि १५ सय ९५ आईसियु बेड रहेकोमा अहिले २६ सय बेड फंक्सनमा रहेको पनि उनले जानकारी दिए । डा कार्कीले भने,‘अहिले हामीले भेन्टिलेटर बढाएका छौं । अक्सिनको सवालमा, सि–प्याब र बाई–प्यावको व्यवस्था भैराखेको छ । सेकेण्ड वेभ आयो भने त्यसलाई धान्नेगरि हामीले अस्पताल प्रणाली र उपचार प्रणाली व्यवस्था गरिरहेका छौं ।’

अस्पताललगायतका भौतिक संरचना निर्माणका साथै दक्ष जनशक्तिको लागि पनि सरकारले विशेष ध्यान दिएको उनको भनाई छ । उनले भने,‘एचडियु, सि–प्याब, बाई–प्याबको लागि दुई सय पचास प्लस डाक्टरहरुलाई तालिम दिने काम भएको छ ।’

उनले सरकारले तीन सय ९६ वटा आधारभूत अस्पतालको यही मंसिर १५ गते शिलान्यास गरिसकेको जनाउँदै यो महत्वपूर्ण उपलब्धि भएको सुनाए । उनले भने,‘हामीले आधारभुत अस्पतालको शिलान्यासमात्रै गरेका छैनौं, चाहिने बजेटको पनि सुनिश्चितता गरेका छौं । दुई वर्षभित्र सबै अस्पताल बन्छन् । यसको लागि करिब ५८ अर्ब बजेट पठाईएको छ ।’

त्यस्तै, रोग नियन्त्रण केन्द्र निर्माणको लागि पनि कानून बनाउने प्रक्रियाको थालनी गरिएको कार्कीको भनाई छ । त्यस्तै, मास्क र पिपिई क्वालिटीको मात्रै उपलब्ध गराउने र अस्पतालहरुलाई पनि आईएसओ, एफिलिएशन र एक्रिडिएशन दिने चलन नभएको सुनाउँदै अब गुणस्तरी बनाउनको लागि पनि प्रत्यांग प्राधिकरण स्थापनाको थालनी गरिएको उनले सुनाए ।

भौतिक संरचना बनाउने काममात्रै नभएर सरकारले दक्ष जनशक्तिको लागि पनि आवश्यक कदम चालेको कार्कीले जनाए । उनले भने,‘यसको लागि सरकारले ठूलो लगानी गर्दैछ । दक्ष जनशक्तिलाई दुर्गममा गएर सेवा दिनको लागि हामीले प्रोत्साहन गरिराखेका छौं । कतिपय सांसदज्यूहरु आउनुहुन्छ, उहाँहरुले मेरो क्षेत्रमा दक्ष चिकित्सक नै छैनन् भन्नुहुन्छ, फेरि उहाँहरु नै आफ्नो नातेदार चिकित्सक भए काठमाडौंमा नै राखिदिन भन्नुहन्छु । प्रेसर दिनुहुन्छ ।’

उनले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराईने विश्वास दिलाए । उनले भने,‘अरु देशका नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेबित्तिकै नेपाली नागरिकले पनि लगाउनेगरि हामीले तयारी थालेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *