कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन
काठमाडौँ। बीमा समितिलाई कोरोना बीमा रकम ३ दिनभित्रै भुक्तानी दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन ३ दिनभित्रै सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएको हो ।
कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।
हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन अर्थमन्त्रालयद्वारा जारी पत्रमा भनेको छ ।
पत्रमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’
Facebook Comment