नेपालीहरुको विवाद, बन्चरो प्रहारबाट जर्मनीमा एक घाइते

बर्लिन। जर्मनीको ह्यामवर्गस्थित बर्गेडोर्फमा नेपालीहरुबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट बुधबार एक नेपाली गम्भीर घाइते भएका छन्। आर्थिक विषयलाई लिएर केहि समय पहिलेदेखि व्यवसायिक साझेदार ४५ वर्षीय हरि विष्ट र ५३ वर्षीय कृष्ण केसी भनिने विजय खड्काबीच विवाद चलिरहेको निकष्टस्थहरु बताउँछन्।
सोही विवादका क्रममा बुधबार छलफल गर्न भन्दै खड्का ३७ बर्षिय श्रीमती नितु केसी सहित विष्टको घरमा पुगेका थिए। घरको ढोकामा खड्का र विष्टबीच विवाद बढ्दै गएपछि विष्टले खड्काकी श्रीमतीलाई मुक्का प्रहार गरे।
मुक्का प्रहारबाट उनी तत्कालै बेहोस भएर भुईँमा ढलेकी थिइन्। त्यस लगत्तै विष्टले खड्कालाई भान्छामा मासु काट्न प्रयोग हुने बन्चरोले हानेपछि टाउकोमा गम्भीर चोट लागेको थियो।

बन्चरो प्रहारबाट खड्काको टाउकोबाट गहिरो चोट लागेर रगत बगेपछि आक्रमणकारी बिष्ट भागेका थिए। घाइते खड्काको तत्काल उद्धार गरी टाउकाको तुरुन्त शल्यक्रिया गरिएको प्रहरीलाई उद्धृत गर्दै जर्मन सञ्चार माध्यमहरुले जनाएका छन्।
शल्यक्रियापछि अपरेशन कक्षबाट बिहीबार उनलाई सामान्य वार्डमा सारिएको र अवस्था सुधारोन्मुख रहेको खड्काका आफन्तजनले बताएका छन्। घटनापछि प्रहरीको ११ ओटा कार, तालिमप्राप्त कुकुर र हेलिकप्टरबाट फरार बिष्टको खोजि चलेको थियो।
तर घटना भएको करिब ४ घण्टापछि आक्रमणकारी बिष्टले स्वयम् प्रहरी सामू आत्मसमर्पण गरेका थिए । प्रहरीले अहिले अभियोगी विष्टलाई अदालतमा पेस गरेको छ बाँकी अनुसन्धान चलिरहेको जनाएको छ ।
ह्यामवर्गमा सुसीे रेष्टुरेण्ट चलाएर बसेका खड्का र विष्टबीच लेनदेनको विषयमा पुरानो विवाद चलिरहेको थियो। केही समय पहिले नेपालीहरुको एक जमघटमा आफूलाई खड्काले पैसा दिनुपर्ने तर जति माग्दा पनि नदिएकाले अब सामाजिक सन्जाल मार्फत बेइज्जत हुने गरी लेख्छु भन्दै विष्ट आक्रोसित भएका थिए। बिष्ट केही समय पहिला स्पेनबाट जर्मनी आएका थिए।
Facebook Comment