ललितपुरमा बहुउद्देशीय सामुदायिक केन्द्र भवन

डिसी नेपाल
२० मंसिर २०७७ ६:४५

ललितपुर । ललितपुर महानगरपालिकामा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ। अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा उद्घाटन गरे। कार्यक्रममा प्रमुख महर्जनले घनाबस्तीका जनतालाई आकस्मिक विपद् पर्दा सो केन्द्र भवनले आश्रयस्थल दिने भनाइ राखे।

राजदूत भोरासफले मुलुकमा छ वर्षअघि भूकम्पका कारण घर भत्किएर खुला चउरमा बस्न बाध्य भएका जनतालाई ध्यानमा राखी भवन निर्माणमा सहयोग गरेको बताए। आइओएमका प्रतिनिधि लोरिना ल्याण्डोले कठिन समयका कारण बाध्यात्मकरुपमा बसाइँसराइ गर्नुपर्ने मानिसलाई सो भवनले अभिभावकको सहारा दिने धारणा राखिन। वडाध्यक्ष अम्बिराज शाक्यले करिब १३ रोपनी सार्वजनिक जग्गाभित्र निर्माण भएको सो भवनका लागि आवश्यक खानेपानी, बत्ती र सरसफाइको सम्पूर्ण जिम्मेवारी वडाले लिने वचन दिए।

उक्त कार्यक्रममा महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले विपद् आश्रमस्थल अर्थात् केन्द्रको शिलान्यास २०७५ साल माघ ७ गते गरेको र मुलुकमा देखिएको कोराना कहरका कारण भवन निर्माणको काम भने एक वर्ष १० महिनामा सम्पन्न भएको बताए। उनले भने, “यस भवन निर्माणका लागि रु एक करोड तीन लाख ९२ हजार ९१२ खर्च भयो । महानगरपालिकाका अन्य घनाबस्ती भएका स्थान हरिसिद्धि, धापाखेल, सुनाकोठी आदिमा पनि एक आश्रमस्थल बनाउन जरुरी छ।” यसैगरी महानगरपालिकाको वडा नं ८ बालकुमारीस्थित गुइतः दोमारमा अर्काे एक विपद् आश्रमस्थल निर्माण भइसकेको लामिछानेले जानकारी गराए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *