भाङ र सिस्नोको परिकारले चम्किएका सन्तोष (भिडियोसहित)

जर्मनी। नेपाली युवा सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल यूके २०२० को सेमिफाइनलमा पुगेका छन्। इन्डियन खानामा २० बर्ष भन्दा लामो अनुभव सम्हालेर पोख्त भएका उनी नेपाली खानालाई विश्व बजारमा चिनाउनु पर्छ भन्दै नेपाली खानाकोे प्रवद्र्धन गर्ने उद्देश्यले अहिले प्रतियोगितामा भिडिरहेका छन्।
जारी प्रतियोगितामा उनले आधुनिक तवरले नेपाली खानालाई प्रस्तुत गरेपछि निर्णायकहरूको मन छुन पुग्यो। उनले भाङको चटनी, कर्कलोको पातको अचार, सिस्नोका साग, टिम्बुरको अचार, भेडाको पोलेको मासु, खसीको मासुको झोल बेथेको साग, तामाको अचार, गहुँको रोटी आदि पस्केर विदेशी सेफहरुलाइ पछाडि पार्दै सेमिफाइनल प्रवेश गरे। शाह यो प्रतियोगिताका लागि पाँच वर्ष देखि प्रयासररत थिए।
सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँमा ३५ वर्ष पहिले जन्मेका सन्तोषका ७ दाजु भाइ दिदी बहिनी छन्। उनी परिवारको कान्छा सदस्य हुन्। ६ वर्षको उमेरमै आफ्ना बुवालाई सदाका लागि गुमाउन पुगेका उनले आफ्नै दाजु भाइको सहारा समेत पाएनन्।
बिहाबारी गरेर अन्यत्र जिल्लामा बसाइ सरेर गएका दाजुभाइ सम्पन्न भएपनि उनी र बुढी आमाको दुःखको सहारा हुन कोही पनि अघि बढेनन्। जीवन धान्न र आमालाई पाल्नको लागि उनले पढाइ सँगसँगै प्लाष्टिक टिप्ने र साइकलमा पाउरोटी बेच्ने काम गरे। जेनतेन १० कक्षासम्म पढेका उनले प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्न सकेनन्।
गाउँमा बसेर जीवन धान्न नसक्ने देखेपछि आमाको आग्रहमा गाउँका एक महासेठ समाजसेवीले अहमदावादमा काम लगाइदिने भएपछि उनी १५ बर्षको कलिलै उमेरमै लागे गुजराततिर। भारु ९ सयमा भाँडा माँझ्ने काम सुरु गरेका उनले त्यसलाई ठूलो सफलतका रुपमा लिए त्यतिबेला। विस्तारै त्यहाँबाट उनको अहिलेको व्यवसायिक जीवनको कथा सुरु हुन्छ।
गाउँमा पाउरोटी र प्लाष्टिक बेचेर दिनको नेपाली २०/२२ रुपैयाँ कमाउने सन्तोषका लागि त्यो ९०० भारु धेरै ठुलो रकम लाग्यो। भाँडा माझ्दा माझ्दै एक दिन उनले सेतो पोशाक, चट्ट टोपी लगाएका ३० /४० जना सेफले काम गरेको देखेर अचम्म माने। दु: खमा बाँचेका उनी मासिक १५ हजार भन्दा बढी तलव र त्यस्तो आकर्षक पेशा देखेर मोहित भएपछि उनको सेफको यात्रा अगाडि बढ्छ।
बाँकी उनका संघर्ष र सफलताका कथा डिसी नेपालको कार्यक्रम प्रवास वाणीमा दीपक धितालसँगको भिडियाे संवाद :
Facebook Comment