फर्किएला राजतन्त्र ?
काठमाडौं। बिगत केही दिनदेखि ब्यापक बन्दै गइरहेको राजसंस्था पुर्नःस्थापना तथा धार्मिक सापेक्षता अथवा हिन्दुराष्ट्र सहितको राज्यको मागसहित काठमाडौँमा शनिबार बिशाल प्रदर्शन भयाे। राष्ट्रिय नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा हजारौं मानिसहरु सहभागी भएका थिए।
आन्दोलनमा सहभागी अधिकांश प्रदर्शनकारीहरुले विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका थिए। पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा बिभिन्न संस्थाहरुद्वारा यस्ता प्रदर्शन लगातार हुँदै आएका छन्।
देशैभर पुरानो राष्ट्रिय गीत बजाउने अभियानले राजावादी रुप ग्रहण गर्न पुगेको छ। राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनले सामाजिक सञ्जाल पनि तताएको छ। फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक जताततै माहोल तातेको छ। सामाजिक सञ्जालका पोष्टहरु राताम्य देखिन्छन।
देशका विभिन्न भागमा भएका प्रदर्शनमा धेरै संस्थाको सहभागिता देखिए पनि आन्दोलनको नेतृत्व भने यकिनका साथ कसैले लिएको देखिँदैन। देशव्यापी ब्यापक बन्दै गइरहेको प्रदर्शनको राष्ट्रवादी नागरिक समाज, नेपाल विद्वत् परिषद्, स्वतन्त्र देशभक्त नेपाली नागरिक, पश्चिमाञ्चलवासी नेपाली जनता, नेपाल राष्ट्रवादी समूह, राष्ट्रिय शक्ति नेपाल जस्ता समूहहरुको आगुवाइमा प्रदर्शनहरू भइरहेका छन्।
सुरुमा प्रत्यक्ष सहभागी नभए पनि केही दिनदेखि नेपालको राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) पनि प्रदर्शनमा सहभागी हुन थालेको छ। कोरोनाभाइरस महामारीलाई देखाउँदै सरकारले यस्ता प्रर्दशन नगर्न र गरेमा कारबाही गर्ने चेतावनी दिइसकेको छ।
आन्दोलनकारीहरूले यो आन्दोलनको सुरुवात मात्र भएको र चाँडै निर्णायक आन्दोलन भई नेपालमा राजसंस्था पुनर्स्थापना हुने दाबी गरिरहेका छन्। उनीहरूमध्ये धेरैले उक्त तर्कलाई पुष्टि गर्न राजतन्त्र समाप्त भएर फेरि राजसंस्था फर्किएको ब्रिटेनको उदाहरण दिने गरेका छन्।
राजतन्त्र पक्षधरहरूले मुख्य रूपमा २०४७ सालको संविधानको पुनर्स्थापना र धर्म सापेक्षता वा हिन्दु राष्ट्रको माग प्रमुख रुपमा उठाएका छन्।
तर हिन्दू राष्ट्रबारे भने यी समूहबीच पनि फरक मतहरू रहेका छन्।
कसैले धर्मसापेक्ष राज्यको माग गरिरहेका छन् त कसैले हिन्दू अधिराज्य। यी प्रदर्शनहरूमा समर्थन र सहभागिता पनि जनाइरहेको विश्व हिन्दू महासङ्घले हिन्दू अधिराज्यको माग गरिरहेको छ, भने कत्ति संस्थाहरुले धर्म सापेक्ष व्यबस्था गरिनु पर्ने माग राख्दै आएका छन्।
राजावादीहरुको देशव्यापी प्रदर्शनले वर्तमान समयको व्यवस्था, प्रणाली, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहसलाई उजागर गरेको छ। नेपालका मुलधारका पार्टीहरु नेपाल कम्यूनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस र सरकारबाट सोचअनुरुपको डेलिभरी नपाउँदा असन्तुष्ट जमात र वैकल्पिक भनिएका पार्टीहरुले सांगठनिक तथा वैचारिक स्पष्टता पाउन नसकेको जमात राजावादी आन्दोलनमा सामेल भएको बिश्लेषकहरु बताउँछन्।
राजसंस्था पक्षधरहरूको प्रदर्शनलाई नजिकबाट नियालेको ताउनेहरूका अनुसार यी प्रदर्शनहरूमा युवा आकर्षण हुनुलाई पनि बिषेश औचित्य बोकको छ। कोरोना भाइरस महामारीका कारण बेरोजगारी दर बढनु, भष्ट्रचारमा बढोत्तरी हुनु, बिदेशी चलखेल बढ्नु लगाएत कारणहरु रहेको जानकारहरु बताउँछन्।
अहिले भइरहेका प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रको कुनै संलग्नता र चासो नभएको धारणा सार्वजनिक हुनु र प्रधानमन्त्रीका सल्लाहकारबाट अभिभावका रूपमा नेपालीले राजसंस्थालाई खोजिरहेको धारणा सार्वजनिक हुनुलाई बिषेश चाँसो र महत्वका साथ हेरिएको छ।
Facebook Comment