प्रधानमन्त्रीका सल्लाहकारलाई वामदेवका सल्लाहकारको कडा जवाफ, सामाजिक सञ्जालमा दोहोरी

डिसी नेपाल
२१ मंसिर २०७७ ११:५२

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले वामदेवको फोटो सामाजिक सञ्जालमा राखेर टिप्पणी गरेपछि सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ। पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमका प्रेस सल्लाहकार विष्णुमणी सुवेदीले सूर्य थापालाई साढेँको संज्ञा दिँदै विभिन्न आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सुवेदीले भनेका छन्, ‘सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क।वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ । उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो । सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ?पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ’

उनले सूर्य थापालाई २०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेको समेत आरोप लगाएका छन्। उनले भनेका छन्, ‘०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ । त्यसउपर कारवाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो । तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ । यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ । कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?’

उनले प्रेस सल्लाहकार थापाको राजनीतिक पृष्ठभूमि भन्दै नेताका चाकडी गर्दै केन्द्रीय स्तरसम्म पुगेको बताएका छन्। उनले थापा जस्ता चरित्र भएका व्यक्तिहरुलाई सरकारले सम्मानित दर्जामा राख्न नहुने भन्दै पद मुक्त गरे सरकारको समेत इज्जत बच्ने समेतको आशय व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *