कोरोनाविरुद्धको खोप धनी राष्ट्रले सञ्चित गर्दा विपन्नलाई मर्का पर्न सक्ने
![कोरोनाविरुद्धको खोप धनी राष्ट्रले सञ्चित गर्दा विपन्नलाई मर्का पर्न सक्ने](https://www.dcnepal.com/wp-content/uploads/2020/12/5fd0c7de881e0_covid_vaccine.jpg)
काठमाडौं। खोप अभियान सञ्चालन गर्ने निकायले धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोपको डोज सञ्चित गर्दा विपन्न राष्ट्रहरुले खोप लगाउनबाट बञ्चित हुने चेताबनी दिएको छ।
सर्वसाधारणका लागि खोप अभियान सञ्चालन गर्ने गठबन्धनले करिब ७० वटा न्यून आय भएका राष्ट्रले प्रति दश ब्यक्तिमा एक जनाका लागि मात्रै खोप उपलब्ध हुने बताएको छ।
अक्सफोर्डको आष्ट्राजेनेकाले आफूले उत्पादन गरेको खोपको ६४ प्रतिशत हिस्सा विकासशील राष्ट्रलाई उपलब्ध गराउने जनाएको छ। विश्वब्यापी रुपमा खोपको निष्पक्ष आपूर्ति सुनिश्चित गर्न पाइला चालिएको छ।
कोभ्याक्सको नामले चर्चित उक्त अभियानले ९२ न्यून आय भएका राष्ट्रहरुका लागि ७० करोड डोज सुनिश्चित गरेको छ। उक्त अभियानमा एमनेष्टी इन्टरनेशनल, अक्सफार्म र ग्लोबल जस्टिस आबद्ध छन्। तीनै संस्थाले खोप उत्पादनकर्ता औषधी कम्पनीले आफ्नो प्रबिधि साझा गरेर बढीभन्दा बढी खोप उत्पादनमा सघाउन आग्रह गरेको छ।
हाल अमेरिकाले उत्पादन गरिरहेको मोर्डना, बेलायतमा अक्सफोर्डको आष्ट्राजेनेका, जर्मन र अमेरिकाको एनबायोटेक र फाइजर तथा चीनको सिनोभ्याक खोप उत्पादनमा अगाडि देखिएका छन्। कोभ्याक्सले सम्पन्न राष्ट्रले आफ्नो पुरै जनसंख्याको तेब्बर डोज खोप आपूर्तिको सम्झौता गरेको जनाएको छ।
कोभ्याक्सको दाबी बमोजिम क्यानाडाले आफ्नो पुरा जनसंख्याको पाँच गुणा बढी खोप आपूर्तिको सम्झौता गरेको छ । विश्वका धनी राष्ट्रको जनसंख्या विश्व जनसंख्याको १४ प्रतिशत छ। र हालसम्मका तीनैवटा खोपको करीब ५३ प्रतिशत खोप आपूर्ति गर्न यी राष्ट्रहरुले सम्झौता गरेका छन्।
अक्सफामको स्वास्थ्य नीति ब्यवस्थापक एन्न मेरियटले जुनसुकै राष्ट्रको कुनै पनि ब्यक्तिले आफ्नो खल्तीमा भएको पैसाको भरमा जीवन बचाउने खोप लगाउनबाट बञ्चित हुन नहुने बताएका छन्। तर नाटकीय परिवर्तन नभएसम्म विश्वभरका अर्बौं ब्यक्तिले वर्षौंसम्म खोप लगाउनबाट बञ्चित हुने उनले टिप्पणी गरे।
कोभ्याक्सले खोप उत्पादन गर्ने कम्पनीलाई आफ्नो प्रबिधि साझा गर्न आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनको प्रविधि पहुँच उपकरणमार्फत् यस प्रकारको प्रबिधि साझा गर्न सकिने उसको कथन छ।
आष्ट्राजेनेकाले आफ्नो उत्पादन विकासशील राष्ट्रलाई गैर मुनाफा लिएर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आष्ट्राजेनेकाको खोप रेफ्रिजेरेटरको तापक्रममा समेत भण्डारण गर्न उपयुक्त देखिएको छ ।
जसले विश्वभरि सहज रुपमा आपूर्ति गर्न सकिनेछ। र उक्त खोप अन्यको अपेक्षा सस्तो देखिएको छ। तर खोप अभियानले भने कुनै एक कम्पनीले आफ्नै स्रोत साधन र उत्पादनको भरमा विश्वभरि आपूर्ति गर्न नसक्ने तर्क गरेको छ।
फाइजर र बायोएनटेकको खोपले बेलायतमा लगाउने अनुमति पाइसकेको छ। अमेरिका र यूरोपकै अन्य राष्ट्रहरुमा यसै साता अनुमति पाउने अपेक्षा गरिएको छ। मोर्डना र आष्ट्राजेनेकाको खोपले केही राष्ट्रबाट अनुमति पाउने पर्खाइमा छन्।
रुसको स्पुतनिक खोपले पनि आफ्नो परीक्षण नतिजा प्रभावकारी र सुरक्षित रहेको दाबीसहित रुसमा खोप लगाउन सुरु गरिसकेको छ। चार वटा अन्य खोप पनि अन्तिम चरणको क्लिनिकल ट्रायल गरिरहेका छन्। गाेरखापत्र दैनिकबाट
Facebook Comment