दिल्लीका अर्का पाहुना काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट

डिसी नेपाल
२५ मंसिर २०७७ १६:१७

काठमाडौं। दक्षिणी छिमेकी भारतका पाहुनाहरुको काठमाडौं दौडा बाक्लिएको छ। सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा काठमाडौं आएका छन्। काठमाडौं पुगेर उनले राजनीतिक भेटघाट पनि शुरु गरिसकेका छन्।

काठमाडौंमा उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका छन्। द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा उनको भ्रमण भएको बालुवाटारले बताएको छ।

नेपाली भूमि समेटेर भारतले पहिला नक्सा जारी गर्नु र त्यसको प्रतिउत्तरमा नेपालले पनि नयाँ नक्सा संसदबाट अनुमोदन गर्दै भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समेटेपछि दुई छिमेकी मुलुकबीचको सम्बन्धमा तनाव आएको थियो। गत वर्षदेखि शुरु भएको यो तनाव अझै जारी छ। तर दुबै मुलुकबाट सम्बन्ध सुधारको प्रयास भने जारी छ।

यही सेरोफेरोमा भारतीय सत्तारुढ दलका विदेश विभाग प्रमुख काठमाडौं आएका हुन्।

दोस्रो हप्तामा काठमाडौं आउने उनी दोस्रो भारतीय पाहुना हुन्। यसअघि २६ नोभेम्बरमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले दुई दिने नेपाल भ्रमण गरेका थिए। त्यसअघि सेनाप्रमुख जनरल मनोजमुकुन्द नरवणे र त्यसअघि रअ प्रमुख सामन्तकुमार गोयलले नेपालको भ्रमण गरेका थिए।

भाजपा विदेश प्रमुख विजय र प्रधानमन्त्रीबीचको भेटमा द्विपक्षीय सम्बन्ध सुधारका विषय कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजाईँले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *