दुईलाख श्रमिकको निःशुल्क बीमा गरिदिने सरकारको निर्णय

डिसी नेपाल
२५ मंसिर २०७७ २२:५०

काठमाडौं। नेपाल सरकारले दुईलाख नेपाली श्रमिकहरुको रोजगारी अवधिभर निःशुल्क बीमा गरिदिने निर्णय गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रस्तावअनुसार, मन्त्रिपरिषद्को विहीबारको बैठकले त्यस्तो निर्णय गरेको छ।

समाचारअनुुसार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजागारीमा लागेका श्रमिकहरुको सन्दर्भमा सरकारले यस्तो निर्णय गरेको हो। श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकअनुसार, करिब २ लाख युवा युवतीहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रतिबर्ष एक सय दिनका लागि रोजगारी पाउने गरेका छन्।

यो बर्ष पनि दुईलाखकै हाराहारीमा श्रमिकहरुले यो कार्यक्रमअन्तर्गत रोजगारी पाएका छन्। उनीहरुलाई एकसय दिनको रोजागारी दिने सन्दर्भमा सो रोजगार अवधिभर ज्यान गुमाए वा कार्यस्थल दुर्घटनाका कारणले घाइते वा विरामी परे जिवन बीमा गर्ने र घटनाको प्रकृतिअनुसार, बीमा रकम उपलब्ध गराउने निणय गरिएको हो।

यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका श्रमिकहरुका लागि नेपाल सरकारले ६० प्रतिशत रकम व्यहोर्ने र श्रमिकले बाँकी ४० प्रतिशत रकम व्यहोर्नु पर्ने व्यबस्था थियो। यो व्यबस्था हटाई श्रमिकले तिर्नुपर्ने भनिएको ४० प्रतिशत रकम पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले नै व्यहोर्ने निर्णय गरिएको हो।

सो कार्यक्रमअन्तर्गत रोजगारीमा रहेका २ लाख श्रमिकहरुको बीमा राष्ट्रिय बीमा संस्थानअन्तर्गत गरिएको छ। मन्त्रालय स्रोतका अनुसार, यो बीमा गरेपछि रोजगारीमा रहेको १०० दिनको अवधिमा मृत्युभए सात लाख रुपैंयासम्म बीमा रकम भुक्तानी गरिने छ भने घाइते वा अंगभंग भएमा सोही अनुपातमा रकम भुक्तानी हुने व्यबस्था मिलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *