गुट भेलामा प्रचण्ड–माधवको एउटै स्वर : अब सहिँदैन

डिसी नेपाल
२६ मंसिर २०७७ १९:२४

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद जारी रहेका बेला आन्तरिक गुटभेलाहरु बढ्न थालेका छन्। यसैक्रममा शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले बागमती प्रदेशका आफू निकट जिल्ला अध्यक्ष तथा इन्चार्जहरुसँग भर्चुअल भेला गरेका छन्।

भेलामा दुबै नेताहरु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएको भेलामा सहभागी एक नेताले जानकारी दिए। भेलामा दुबै नेताको एउटै आशय अब नसहने भन्ने रहेको उनले बताए।

स्रोतका अनुसार भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा देखिएको विवाद अब पार्टीका कमिटीबाट निर्णय गरेरै समाधान गरिने बताएका थिए। उनले अनौपचारिक एक्लै कुरा गरेर विवाद समाधान नहुने भन्दै केन्द्रीय कमिटी बैठकबाटै विवादलाई टुंगोलगाइने बताएका थिए।

भेलामा प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूलाई धोकेवाज भनेको भन्दै आफूले धोका दिएर नै ओलीलाई पटक पटक प्रधानमन्त्री बनाएको भन्दै व्यंग्य गरेका थिए। उनले आफूसँगको छलफलमा माधव नेपालले धोका दिन्छन्समेत भनेको उल्लेख गरेको ती नेताले बताए। प्रचण्डले भेलामा अध्यक्ष ओलीको हेपाहा प्रवृति सहन नसकिने उल्लेख गर्दै बुहार्तन सहन परेको स्मरण गरेका थिए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि कडा अभिव्यक्ति दिएको ती नेताले बताए। उनका अनुसार नेता नेपालले ओलीले कुन पद छोड्ने भन्ने कुरा पार्टीको कमिटीले निर्णय गर्ने बताएका थिए। उनले कमिटी बैठकमा उपस्थित भएर सबैको मन जित्न सके कुनै पनि पद छोड्नु नपर्नेसमेत उल्लेख गर्दै बैठकमै नआउने गतिविधिले पार्टीको विवाद बढेको बताएका थिए।

नेकपाको स्थायी कमिटी बैठक आगामी आइतबार बस्दै छ। यसअघि २१ मंसिरको बैठकमा ओली सहभागी भएका थिएनन्। पत्र पठाएका थिए। आइतबारको बैठकमा उनले के गर्छन् भन्ने चासोको विषय बनेको छ।

पुस पाँच गतेलाई नेकपा केन्द्रीय कमिटी बैठक बोलाइएको छ। नेताहरुका अनुसार नेकपाको विवाद केन्द्रीय कमिटीसम्म पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *