कर छलीको आरोपमा कोकाकोलाको कार्यालयमा राजश्व अनुसन्धान विभागको छापा

डिसी नेपाल
२७ मंसिर २०७७ ०:४९

काठमाडौं। बहुराष्ट्रिय कम्पनीबाट उत्पादित चिसो पेय पदार्थ कोकाकोलाको नेपालस्थित प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेड कम्पनीमा राजश्व अनुसन्धान विभाग पुल्चोकले छापा मारेर कार्यालयका कागजात र कम्प्युटरहरु जफत गरेको छ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपालको सुरक्षा हेरिरहेका कर्मचारीका अनुसार सोमबार दिउसो डेढबजे पछाडिको गेटबाट छिरेका राजस्व अनुसन्धानका कर्मचारीहरु कार्यालयको कागजात र कम्प्युटरसहित दिउसो साढेतीन बजे अगाडिको गेटबाट बाहिरिएका थिए। दुई घण्टा लामो छापा मार्ने क्रममा राजश्व अनुसन्धान विभागले सो कार्यालयका कर र व्यापारसंग सम्बन्धित सम्पूर्ण कागजातहरु लगेको र केहीमा सिलबन्दी गरेको बताइएको छ।

डिसी नेपालका प्रतिनिधिहरु शुक्रबार घटनाबारे बुझ्न बोटलर्स नेपालको कार्यालयमा पुग्दा सुरक्षामा खटिएका बोटलर्सका कर्मचारीहरुले पत्रकारहरुसंग कुरा गर्न मिल्ने हाकिमहरु सबै राजश्व अनुसन्धान विभागमा गएको बताए।

बोटलर्स नेपालको लगानीकर्ता परिवर्तन हुँदा राजश्व छली भएको भन्दै एक व्यक्तिले राजश्व अनुसन्धान विभाग पुल्चोकमा लिखित उजुरी दिएका थिए। उजुरीकर्ताले बारम्बार ताकेता गरिरहेपछि उक्त छापा मारिएको पाइएको छ।

राजश्व अनुसन्धान विभागको एक उच्च स्रोतका अनुसार, उजुरीकर्ताले २०७७ असोज १९ गते राजश्व अनुसन्धान बिभाग पुलचोक ललितपुरमा उजुरी हालेका थिए। निर्देशकको सचिवालयमा गरिएको उजुरी दर्ता नं. १५७ रहेको छ । राजस्व छली गरी देशलाई ठूलो हानी नोक्सानी पुर्याएकोबारे उजुरी दिने व्यक्तिले राजस्व बिभागको माहानिर्देशक दीर्घराज मैनालीलाई भेटेरै उजुरी दिएको बताइन्छ । उजुरी हालेको दुई महिनाको आन्तरिक अध्ययनपछि राजश्व अनुसन्धान विभागले बोटलर्स नेपालको कार्यालयमा छापा मारेको हो।

एनसेलको कर छलीजस्तै प्रकृत्तिको देखिने कोकाकोला उत्पादन गर्ने कम्पनीको लगानीकर्ता फेरिदा पटकपटक कर छली भएको देखिएको छ।
अहिले नयाँ ब्यबस्थापनको तर्फबाट भारतीय नागरीक प्रदीप पाण्डे बोटलर्स नेपालको महाप्रबन्धक छन्। उजुरी कर्ताले उनलाई पनि करछलीमा संलग्न भएको आरोप लगाएको विभाग स्रोतले बताएको छ।

उजुरीकर्ताले सन् २०१४ मा कोकाकोला कम्पनीको नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको स्वामित्व परिवर्तन हुँदा नेपाल सरकारलाई बुझाउनु पर्ने पूँजीगत लाभकर छली गरेको भन्ने सूचना विभागलाई दिएका थिए।

कोकाकोला साउथ अफ्रिका बोटलिङ कम्पनी साउथ अफ्रिकाले दुबईस्थित कोकाकोला साउथ बेष्ट एसिया प्रा. लिले नेपालको ७६ प्रतिशत शेयर सन् २०१४ मा बोटलिड. इन्भेष्टमेन्ट गु्रप एटलान्टा अमेरिकालाई बिक्री गरेको छ। यो विक्री गर्दा कर छली भएको उजुरीमा उल्लेख भएकोले छापा मार्नु परेको विभागका एक कर्मचारीले बताए।

यता पनि भारतीयकै चलखेल

भारतीय ब्याबस्थापनले नेपालमा आफ्नो प्रभाव पारेर करछली गरेको भन्ने दावी उजुरीकर्ताको रहेको छ। बिक्री गर्ने अफ्रीकन कम्पनी कर तिर्न तयार हुँदाहदै पनि भारतीय ब्यबस्थापकले प्रभाबमा पारेर कर छली गरेको सूचना उजुरीकर्ताले विभागलाई दिएका छन्।

दुई बर्षदेखि बोटलिङ्ग इन्भेष्टमेन्ट गु्रप एटलान्टालाई स्वामित्व हस्तान्तरणको प्रक्रिया बाणिज्य कार्यलयमा चलिरहेको छ। केही प्रक्रिया नपुग्दा बाणिज्य बिभागमा काम अड्केको देखिन्छ।

सन २०१४ मा नेपाल र बंगलादेशको एकैसाथ कोकाकोला साउथ बोटलिङ्ग कोकाकोला कम्पनीको आफ्नो स्वमित्व बोटलिङ्ग इन्भेष्टमेन्ट गु्रप एटलान्टा अमेरिकालाई बिक्री गरेको थियो। यस्को कारोवार दुवईमा भएको बताइएको छ। यो १७ अर्ब रुपैयाँको कारोवार भएकाले नेपालले पाउनु पर्ने ठूलो राजश्व रकम गुमाएकोले उक्त रकम असुल उपर गर्न नागरिकको तर्फबाट दिएको उजुरीलाई राजश्वले गम्भीर रुपमा लिएर कारवाही अगाडि बढाएको दावी गरेको छ।

नेपालमा दुईवटा प्लान्ट बोटलर्स नेपाल र तराई बोटलर्स भएकाले १२ अर्व नेपालको कारोवार भएको हो। यसअघिका व्यवस्थापकले केही कुरामा विवाद भएपछि सूचना चुहेकोले अहिले ढिलोगरी सार्वजनिक भएको हो। उजुरीकर्ताको सुरक्षाका लागि उनको नाम गोप्य राखिएको छ।

यस्को पुष्टि त्यतिबेलाको ब्याबस्थापनले पठाएका इमेल र बाणिज्य कार्यालयमा शेयर नामसारीका लागि अगाडि बढाइएको कागजातले समेत गर्नसक्छ। यसअघि सन् २००४ मा पनि कोकाकोलाको स्वमित्व परिवर्तन भएको थियो। त्यतिबेला चुडामणि शर्माले कर न्ययधीकरणमार्फत मिलाइदिएको आरोप लाग्दै आएको छ। सन् २००४ मा पनि लाभकर छली भएको र त्यसवखत न्यून मुल्याङ्कन गरी मिलाइएको दावी उजुरीकर्ताले गरेका छन्।

राजश्व अनुसन्धान विभागले छापा मारेर महत्वपूर्ण कागजातहरु आफ्नो अधिनमा लिएकोले अब उक्त कार्यालयले अनुसन्धान कसरी गर्दैछ भन्ने आम चासोको विषय भएको छ। एनसेलको कर छलीमा जस्तै यस प्रकरणमा पनि मुलुकलाई करोडौं करोड आउने राजश्वमा कतै कुनै ठूलै नेताहरुले तर मारिरहेका त छैनन्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *