नेकपा विवादः ‘कुलिङ पिरियड’मा झन ‘हट’

डिसी नेपाल
२७ मंसिर २०७७ २०:४७

काठमाडौं। मंसिर २१ मा बसेको नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ सम्मका लागि स्थगित गरिएपछि सो ७ दिनको समयलाई नेताहरुले पार्टीको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्न ‘कुलिङ पिरियड’ दिएको बताएका थिए।

२१ मंसिरमा बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ‘यो अवधिमा नेताहरुबीच अनौपचारिक कुराकानी पनि गर्ने भन्ने भएको छ’ भनेका थिए। तर स्थायी कमिटीको बैठक बस्ने अघिल्लो दिन शनिबारसम्मको अवस्था हेर्दा नेकपाका दुई अध्यक्ष तथा वरिष्ठ नेताहरु यो अवधिमा ‘कुल’ भएनन् झन ‘हट’ देखिएका छन्।

गएको मंगलबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगे। उनको बालुवाटार गमन सुखद् रहेन। बरु प्रचण्डले अब दुई अध्यक्षबीच एक्ला एक्लै छलफल नगर्ने बताएर ओलीबाट छुट्टिए। र त्यसपछि प्रचण्ड बालुवाटार गएका छैनन्। बरु शुक्रबार बागमती प्रदेशका आफू निकट नेताहरुको भेला गरेका छन्। भेलामा प्रचण्ड र उनको समर्थनमा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमाथि तिखो टिप्पणी गरेका थिए।

दुबै नेताले अब जे गर्ने हो पार्टीको कमिटीले निर्णय गर्ने बताएका थिए। स्थायी कमिटीमा अहिले दुई अध्यक्षले पेश गरेका छुट्टाछुट्टै प्रतिवेदन र एकअर्का अध्यक्षलाई लेखेका चिठीहरु छन्। सोझै राजनीतिक प्रस्तावमा छलफलको एजेण्डा नभनेर आइतबारको स्थायी कमिटीमा पार्टीको आन्तरिक संकटलाई एजेनण्डा बनाइएको छ। यसलाई पनि ओली पक्ष र प्रचण्ड–माधव पक्षले आ आफ्नै ढंगले व्याख्या गरेका छन्।

ओली प्रचण्डको प्रस्ताव आरोप पत्र भएको भन्दै त्यसमाथि कुनै छलफल हुन नसक्ने भनिरहेका छन्। उनले सो प्रस्ताव फिर्ता नभएसम्म बैठकमा उपस्थित नहुने भन्दै २१ मंसिरको बैठकमा पत्र पठाएका थिए। तर, प्रचण्डले सो प्रस्ताव फिर्ता नहुने बताइसकेका छन्। त्यसैले आइतबारको बैठकमा ओली उपस्थित हुने वा नहुने निश्चित भएको छैन। तर ओली निकट नेताहरुले आइतबारको बैठकको एजेण्डा राजनीतिक प्रस्ताव नभएकाले र पार्टीको आन्तरिक संकट भएकाले ओली बैठकमा सहभागी हुने सन्देश दिएका छन्। तर, प्रचण्ड निकटकाले भने पार्टीको आन्तरिक संकटमा राजनीतिक प्रस्ताव पनि रहेकाले ती प्रस्तावमाथि पनि छलफल हुने बताएका छन्।

कुल मिलाएर यो ७ दिनको अवधिमा विवाद समाधानबारे कुनै सहमति जुटिनसकेकाले आइतबारको बैठक पनि सहज नहुने देखिएको छ। तर, ओलीले भने प्रचण्डलाई मनाउने प्रयास भने जारी राखेका छन्। शनिबारमात्र ओली निकट स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए। उनले अध्यक्ष प्रचण्डसँग छलफल गरेको बताइएको छ। तर, सहमति भने जुटिसकेको छैन। यस्तै ओली निकटका नेताहरुले आइतबार पनि यस्तो भेटलाई निरन्तरातामा दिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *