किस्ने खोलामा पक्की पुलको शिलान्यास
झापा । झापाको गौरादह र कमलको सिमानामा पर्ने लालपानी (किस्ने) खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । गौरादह नगरपालिका वडा नम्बर १ र कमल गाउँपालिकाको वडा नम्बर २ स्थित देवीचौन जोडिने सो खोलामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र तत्कालीन संविधानसभाका सदस्य दीपक कार्कीले संयुक्त रुपमा पुलको शिलान्यास गरे ।
पुल शिलान्यासका क्रममा मन्त्री कार्कीले पुल निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिए । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले पुलको निर्माणपछि कमल र गौरादहका बासिन्दाले खेप्नुपरेको सास्तीको अन्त्य हुनाका साथै दुवै पालिकाको आर्थिक विकासमा टेवा पुग्ने बताए।
प्रदेश सरकारको रु पाँच करोड १४ लाख ७९ हजारका लागतमा बन्ने पुल ४०.८७ मिटर लामो हुने छ । विसं २०७९ असार २० गतेसम्म पुल निर्माण कार्य पूरा हुने गरी काम थालिएको भौतिक पूर्वाधार विकास कार्यालय भद्रपुरका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । पुल निर्माणको जिम्मा रौताहा–आशिषदीप –राज जेभी भद्रपुरले पाएको छ ।
Facebook Comment