कांग्रेस सभापति देउवा सहभागी नभएपछि संवैधानिक परिषदको बैठक स्थगित

डिसी नेपाल
२८ मंसिर २०७७ १०:०३

काठमाडौं। आइतबार विहान बस्ने तय भएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका संवैधानिक आयोगका पदहरू पूर्तिका लागि आहृवान गरेको बैठकमा सभापति देउवा सहभागी नहुने भएपछि स्थगित भएको हो।

सरकार विरुद्ध आन्दोलन घोषणा गरेको अवस्थमा प्रधानमन्त्रीले बोलाएको परिषदको बैठकमा सहभागी हुँदा नराम्रो सन्देश जाने भन्दै देउवा बैठकमा सहभागी नभएका हुन्। देउवाले शनिबार नै केन्द्रीय सदस्य रमेश लेखकमार्फत आफू बैठकमा सहभागी नहुने सन्देश पठाएको स्रोतले जनाएको छ।

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबण्डा नमिल्दा ४० भन्दा बढी पद रिक्त छन्। संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन्।

राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन्। निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ। राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ। राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ।

त्यहाँ पनि अध्यक्षसहित चार आयुक्त खाली छ। समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगले पनि अध्यक्ष मात्रै पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *