नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने, शाेक प्रस्तावपछि बैठक स्थगित हुने

डिसी नेपाल
२८ मंसिर २०७७ १०:१८

काठमाडौं। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको सत्तारुढ दल नेकपााको स्थायी कमिटी बैठकको स्थान परिवर्तन भइ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बसे आफू पनि सहभागी हुने बताएपछि बैठक बालुवाटारमा बस्न लागेको हो।

यद्यपी आजको बैठकमा केन्द्रीय सदस्य एवं पूर्व सांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ। शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने बताइएको छ। लामाको मंसिर ४२ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश प्रस्तुत गरेको प्रतिवेदनलाई पेश गरिएको थियो। उक्त प्रतिवेदन सदस्यहरुलाई अध्ययन गर्न भन्दै एक साताको समय दिइएको थियो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डले प्रतिवेदन फिर्ता नदिएसम्म आफू बैठकमा सहभागी नहुने अडान दिँदै आएका थिए।

नेकपाको विधानमा दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने र एजेण्डा तय गर्नुपर्ने उल्लेख छ। यसैबीच नेकपाभित्रको विवाद बहुमत अल्पमतमा प्रवेश गरेपछि दुवै समूह आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत थालेका छन्।

सचिवालयदेखि केन्द्रीय कार्यसमितिसम्म अल्पमतमा रहेका ओली संसदीय दलमा भने आफ्नो बहुमत रहेको भन्दै संसदीय दलमा बहुमत पुर्याउने कसरतमा जुटेका छन्। एक हप्ता स्थगित भएको स्थायी कमिटी बैठकको बीचमा प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल समूहले गुटको भेलासमेत गर्न भ्याएका छन्।

माधव नेपालको साथ पाएका प्रचण्ड पक्षधरले कार्यकर्ताहरूलाई सचिवालय बैठकमा पेश भएका दस्ताबेजका बारेमा जागरूक गराइरहेका छन्। पार्टीमा देखिएको समस्याबारे जानकारी दिन गुटगत भेलाहरूसमेत भइरहेकाछन्।

‘गुटगत भेलाहरू पनि भइरहेका छन्। कुनै ठाउँमा भएका भेलाको चर्चा भयो, कुनै ठाउँको प्रचारमा नआएको मात्रै हो,’ प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने।

अध्यक्ष ओलीले केही समय अघि मदन भण्डारी फाउण्डेसनका नाममा प्रदेश–१, कर्णालीलगायत विभिन्न स्थानमा भेलाहरू गरेका थिए। यस्तै, प्रचण्ड–नेपाल समूहले पनि विभिन्न स्थानमा आफ्नो समूहलाई प्रशिक्षण दिइरहेका छन्। दाहाल–नेपाल समूहले केही दिनअघि काठमाडौंको थापाथली क्याम्पसमा विद्यार्थी भेला गरेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *