अवैध यार्सागुम्बासहित ४ जना पक्राउ

डिसी नेपाल
२८ मंसिर २०७७ १५:५७

काठमाडौं । करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बासहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका ५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, बुढानिलकण्ठ बस्ने संखुवासभा चैनपुर नगरपालिका २ घर भएका २२ वर्षीय हिमाल गुरुङ, जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका ६ घर भएका २४ वर्षीय बिशाल परियार र माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका ७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका ६ नारायणटारमा अवैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाईराखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो । शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका ४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद यार्सागुम्बा आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *