काँग्रेसको सडक आन्दोलनः सरकारले पुर्‍यायो कि आफै गयो ?

खेमराज थापा
२८ मंसिर २०७७ १८:०८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार देशव्यापी सडक प्रदर्शन गर्दैछ। नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गर्दै काँग्रेस सडक आन्दोलनमा उत्रिएको उसको भनाइ छ।

सरकारको मुल्यांकन

ओलीले सत्ता सम्हालेको लगभग तीन वर्ष पुग्नै लाग्दा काँग्रेस सरकारविरुद्ध सम्भवतः पहिलो पटक आक्रामक रुपमा प्रस्तुत हुँदैछ।

तीन वर्षसम्म ओली सरकारलाई खासै समस्या उत्पन्न नगराएको विपक्षी पार्टी यो कोरोना महामारीको बीचमा किन सडकमा ओर्लिनु पर्यो प्रश्न उठेको छ।

ओली सरकारको शुरुआती दिनभन्दा पछिल्ला दिनहरुको आलोचना बढिरहेको छ। नेकपाकै नेताहरुलेसमेत ओली सरकारको आलोचना गरिरहेका छन् भने सामाजिक सञ्जालहरुमा पनि ओली सरकारको आलोचनाको ग्राफ बढेको छ। सँगसँगै प्रमुख प्रतिपक्षी दलमाथि पनि आलोचना हुने गरेको छ। देशमा प्रमुख प्रतिपक्षी दल नभएको जस्तो देखिएको काँग्रेसमाथि आरोप लाग्दै आएको छ।

र पछिल्लो महिना सडकमा पुनःउत्थानवादीहरुले राजतन्त्र फर्काउने भन्दै सडकमा प्रदर्शन बढाएका छन्। सत्तारुढ दल भित्रै सरकारको व्यापक विरोध भइरहेको बेला छ। र काँग्रेस भित्र पनि आन्तरिक विवाद भुसको आगो झै छ।

यही परिदृश्यमा काँग्रेसले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्दै छ। सडक आन्दोलन नै गर्नुपर्ने बाध्यता हो र ? भने डिसी नेपालले काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतलाई प्रश्न गरेको थियो। उनले जवाफमा भने, ‘यो सरकार भ्रष्टाचारको आहालमा डुबेको छ। नेपालको इतिहासमा कुनै पनि निर्वाचित सरकार यो सरकार जति भ्रष्टाचारमा डुबेनन्। अहिले लाखको कुरा होइन, करोड र अर्बको कुरा हुन्छ। अझ सरकार सर्वसत्तावादतर्फ अगाडि बढेको छ। सरकारलाई ठिक ठाउँमा ल्याउन सडक आन्दोलन गर्नुपर्ने बाध्यता भएको हो।’

काँग्रेसले ओली सरकारलाई भ्रष्टाचारम डुबेको भन्ने आरोपका लागि हालै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको एशियन भ्रष्टाचार ब्यारोमिटरको प्रतिवेदनलाई पनि आधार मानेको छ। जसमा नेपालका प्रधानमन्त्रीको नाम नै तोकेर भ्रष्टाचारीको संरक्षण गरेको भनिएको थियो। यद्यपी यो प्रतिवेदनलाई नेपाल सरकारले खारेज गरेको छ।

त्यस्तै काँग्रेसले वाइडबडी जहाज खरिद प्रकण, स्वास्थ्य सामाग्री खरिद (ओम्नी) प्रकरण, यति समूहलाई नेपाल ट्रष्टको जग्गा दिएको प्रकरण, तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङ प्रकरण र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सरकारले दोषीमाथि कारबाही गर्नुको साटो संरक्षणमा लागेको आरोप लगाएको छ।

के यी आरोपका आधारमा काँग्रेस सरकार विरोधी आन्दोलनमा उत्रिएको हो त ? डा. महत भन्छन्, ‘सरकार बनेको ३ वर्ष पुग्दैछ। शुरुमा हामीले राम्रो गर्ला भनेर आवाज उठाएनौं। पछि संसदमा पनि कुरा उठायौं। एक पटक हरेक जिल्लामा कार्यक्रम पनि गरेयौं। तर, पनि सरकार सच्चिएन। अँझै दुई वर्ष बाँकी छ। सरकार सच्चियो भने देश र जनतालाई राम्रो गर्न सकिने समय छ।’

काँग्रेसले सरकारमाथि लगाएको अर्को आरोप हो सर्वसत्तावाद। गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति सुदृढीकरण विभागलगायत विभागलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमार्फत ल्याउनुलाई काँग्रेसले यो सरकारलाई सर्वसत्तावादतर्फ अगाडि बढेको भन्ने आरोप लगाएको छ। डा. महत भन्छन्, ‘यो सरकार सबै जनताको हुन सकेको छैन। सरकारले दिने सेवामा आफूलाई मत दिएको वा नदिएको हेरेर सेवा दिने जस्तो काम भएको छ। प्रधानमन्त्रीले सबै अधिकार आफैमा केन्द्रित गर्नु भएको छ।’

हालै तनहुँमा पुल उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा पनि यो सरकार सर्वसत्तावादतर्फ अगाडि बढेको भनिएको थियो।

राजावादीको प्रदर्शन

काँग्रेस सडक आन्दोलनमा जानुको अर्को कारण हो हालै सडकमा देखिएको पुनःउत्थानवादीहरुले राजतन्त्र फर्काउने भन्दै गरेको प्रदर्शन।

संसदमा कमजोर रहेको काँग्रेस सडकमा पनि नदेखिँदा उसको जनतासँगको सम्पर्क टुटेको छ। त्यसमाथि राजवादीहरुले सडकमा प्रदर्शन गर्दा सडक पनि राजावादीले कब्जा गरिदिने हुन् कि भन्ने डरले काँग्रेसलाई सताएको हुन सक्छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘राजवादीले सडक कब्जा गरे भन्न त नमिल्ला तर काँग्रस पनि छ है भन्ने देखाउन यो आवश्यक थियो।’

काँग्रेसको आफ्नै बाध्यता

काँग्रेस सरकार विरोधी आन्दोलनका लागि सडक आन्दोलनमा जानुको पनि आफ्नै बाध्यता छ। संसदमा निकै कमजोर छ काँग्रेस। त्यसमाथि अहिले संसदको अधिवेशन पनि चलेको छैन। काँग्रेसका संगठनहरु निष्क्रिय बनेका छन्।

नेताहरु आपसमा भिडिरहेका छन्। राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘काम नभए पनि घर झगडा हुन्छ। यो आन्दोलन त एक काम पनि हो नी। सबैले काम पाउँछन्। यो आन्दोलनले काँग्रेस भित्रको आन्तरिक विवादलाई मत्थर त पार्छ नै त्यसले नेकपाको आन्तरिक विवादलाई पनि कम गराउने सम्भावना रहन्छ। किनकी काँग्रेस एकजुट भए हामी पनि एकजुट हुनुपर्छ भन्ने उनीहरुलाई पर्न सक्छ।’

काँग्रेसमा मुख्य तीन गुट सक्रिय छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको गुट।

यी तीन गुटबीच देउवा सभापति निर्वाचित भएपश्चात निरन्तर विवाद छ। अझ महाधिवेशनको मिति तोकेर पनि महाधिवेशनको तयारी गर्न नसकिरहेको काँग्रेसमा यसले पनि विवाद बढाएको छ।

आन्दोलनमा जाँदा काँग्रेसको यो विवाद मत्थर हुने देखिएको छ। अर्कोतर्फ निष्क्रिय रहेका काँग्रेसका संगठनहरु पनि सक्रिय हुनेछ। साथमा प्रमुख प्रतपिक्षी देखिएन भन्नेलाई देखाउन पनि यो आन्दोलनले जवाफ दिने सहमहामन्त्री डा. महतले बताए।

काँग्रेसले सोमबार देशव्यापी सडक आन्दोलन गर्दै छ। यसका लागि नेताहरुलाई विभिन्न जिल्लाहरुमा खटाइएको छ। र तयारी पूरा भएको झापामा रहेका सहमहामन्त्री डा. महतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *